जनकपुर- प्रदेश २ सरकारले आफ्नै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्ने भएको छ।
प्रदेशको समग्र विकासको लागि सरकारकै स्वामित्वमा बैंक स्थापना अपरिहार्य रहेकोले बैंक स्थापनाको गृहकार्य अघि बढाइएको आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले जानकारी दिए।
बैंक स्थापनाको लागि गृहकार्य गर्न प्रदेश नीति आयोगका उपाध्यक्ष डा हरिवंश झाको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको छ।
कार्यदलमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव प्रेम कुमार श्रेष्ठ, आर्थिक मामिला तथा योजना मन्त्रीका आर्थिक सल्लाहकार राजकुमार सिंह, जनकपुरस्थित संघीय कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका)का प्रमुख डा विरेन्द्र मिश्र, राष्ट्र बैंक जनकपुरका प्रतिनिधि, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका कानुन अधिकृत सदस्य तथा आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत संजय सरदार सदस्य सचिव रहेका छन्।
कार्यदलले बैंक स्थापनाको आवश्यकता र औचित्य तथा अवधारणा पत्र तयार गरेर प्रदेश सरकारलाई बुझाउने जिम्मेवारी पाएको छ।
कार्यदलका संयोजक डा हरिवंश झाले अवधारणा पत्रमाथिको छलफल सुरु भइसकेको र सम्भवतः यसै साता अन्तिम रुप पाउने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।