काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र आज हस्तान्तरण गरिएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा गृह मन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले उgलाई सो परिचयपत्र हस्तान्तरण गरे। सो अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि परिचयपत्र हस्तान्तरण गरिएको छ।
त्यसैगरी विभागले भोलि (बुधबार) राष्ट्रपति विद्या भण्डारीलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्यक्रम रहेको पनि जनाएको छ। विभागका महानिर्देशक काफ्लेले १ लाख १७ हजार नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गर्ने पहिलो चरणको कार्यक्रम अन्तरगत प्रधानमन्त्री ओलीलाई सो परिचय पत्र वितरण गरिएको र बुधबार राष्ट्रपतिलाई वितरण गर्ने कार्यक्रम तय गरिएको जानकारी दिए।
आगामी दुई वर्ष भित्र सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने प्रतिवद्धता पनि उनले व्यक्त गरेका छन्।
संवैधानिक व्यवस्था अनुसार व्यक्तिको पहिचानलाई सुनिश्चित गर्न र उनीहरुलाई सरकारी सेवामा लिने आधारको रुपमा राष्ट्रिय परिचय पत्र वितरणको कामलाई सरकारले अघि बढाएको हो। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागलाई सरकारले सो काम आगामी २ वर्ष भित्र सम्पन्न गर्ने कार्यादेश दिएको छ।
नेपाल सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार राष्ट्रका विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पाँचथर जिल्लाका ८० प्रतिशतलाई यो परिचयपत्र दिने कार्यक्रमअनुसार वितरण जारी छ।
विभागले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।