नेपाल-भारतबीच सञ्चालित द्विपक्षीय आयोजनाको समीक्षा

नेपाल लाइभ | २०७६ असार २४ मंगलबार | Tuesday, July 09, 2019 १२:१६:०० मा प्रकाशित

नेपाल-भारत निरीक्षण संयन्त्रको सातौं बैठक। तस्बिर- परराष्ट्र मन्त्रालय।


काठमाडौं- द्विपक्षीय सहकार्यअन्तर्गतका आयोजनाको प्रगति समीक्षा गर्न नेपाल-भारत निरीक्षण संयन्त्रको सातौं बैठक काठमाडौंमा सम्पन्न भएको छ।

सोमबार सम्पन्न बैठकको अध्यक्षता नेपालका तर्फबाट परराष्ट्र सचिव शंकरदास बैरागी र भारतका तर्फबाट नेपालका लागि भारतीय राजदूत मन्जिवसिंह पुरीले गरेका थिए।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र भारतबीच सञ्चालित भइरहेका सिमापार रेल, पेट्रोलियम पाइपलाइन, सडक, संयुक्त जाँच चौकी, पुल, उर्जा, सिँचाइ, कृषि, भूकम्पपछिको पुनर्निमाणलगायतका आयोजनाको कार्यान्वयनको अवस्थाका बारेमा समीक्षा भएको थियो।

आयोजना निर्माण तथा कार्यान्वयनका लागि आएका समस्या र अप्ठ्यारालाई सल्ट्याउन दुवै पक्ष बैठकमा सहमत भएका थिए।

नेपाल-भारत निरीक्षण संयन्त्र सन् २०१६ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला स्थापना गरिएको थियो जसको उद्देश्य द्विपक्षीय आयोजनाको कार्यान्वयन गर्नु र तिनीहरुलाई समयमै सक्न आवश्यक कदम चाल्नु हो।

संयन्त्रको आठौं बैठक दुवै पक्षलाई उपयुक्त हुने समयमा राखिनेछ।