रुपन्देही– देवदहका व्यवसायी बसन्त पौडेलको हत्यामा भारतीय मोटरसाइकलको प्रयोग भएको खुलेको छ। बिहारको बैसाली भन्ने ठाउँबाट चोरीएको मोटरसाइकलमा उनीहरुले नक्कली नेपाली नम्बरप्लेट राखेर प्रयोग भएको अनुसन्धानमा खुलेको छ।
हत्यामा प्रयोग भएको मोटरसाइकल शनिबार प्रहरीले बेबारिसे अवस्थामा भेटाएको छ। लु १ च १४ नम्बर राखेर उक्त मोटरसाइकल हत्यामा संलग्न समूहले प्रयोग गरेको थियो।
पौडेललाई शुक्रबार दिउसो आफ्नै फर्निचरमा गोली हानी हत्या गरिएको थियो। अपराधीहरुले निकै योजनाबद्ध रुपमा हत्या योजना बनाएकाले उनीहरुले चोरीको मोटरसाइकल प्रयोग गरेका हुन्। हत्यामा मनोज पुन समूहको संलग्नता आशंका गरिएको छ।
अनुसन्धानमा सिआईबी खटियो
घटनाको अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)बाट टोली खटिएको छ। सिआईबीका एसएसपी धनश्याम अर्यालको नेतृत्वमा एक टोली देवदह पुगेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पनि डिएसपी धर्मराज भण्डारीको संयोजकत्वमा छानबिन अघि बढाएको छ। हत्यामा संलग्नहरु भारत भागिसकेको प्रहरी आशंका छ।
दोस्रो दिन पनि रुपन्देही बन्द
आइतबार पनि मृतकका आफन्तले दोषीलाई कारबाहीको माग गर्दै रुपन्देही बन्द गरेका छन्। प्रहरीले सुरक्षा दिन नसकेको भन्दै उनीहरुले नाराबाजी समेत गरेका छन्।
गत वर्ष सोही ठाउँमा युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारीको हत्या भएको थियो। सो घटनाका मुख्य नाइकेहरु पक्राउ नपर्दा तिवारीका साथी रहेका पौडेल पनि मारिएका छन्। पौडेल पनि युवा संघमा आबद्ध थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।