लहान- केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहामा एक बालकसहित तीन जनाको मृत्यु भएको छ।
अत्यधिक चिसोका कारण गए राति गोलबजार नगरपालिका–४ निवासी शम्भु साहको ६ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतोको मृत्यु भएको हो। जाडोका कारण बेहोस भएका बालक साहको धामीझाँक्री लाउन थालेपछि मृत्यु भएको स्थानीय रामभरोसी यादवले जानकारी दिए।
यस्तै, चिसोकै कारण शनिबार धनगढीमाई नगरपालिका–७ कसहा निवासी ५५ वर्षीय रामरतन महतोको मृत्यु भएको थियो। श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित महतोको चिसोका कारण मृत्यु भएको स्थानीयवासीले बताएका छन्।
अत्यधिक जाडोका कारण सिरहाको जनजीवन कष्टकर बनेको छ। अत्यावश्यक कामबाहेक सर्वसाधारणहरु घर बाहिर निस्कन सकिरहेको छैनन् भने अस्पतालमा रुघाखोकी, ज्वरो, पखाला लगायतका बिरामी बढेका छन्।
यसैबीच स्थानीय प्रशासनले सिरहाको विष्णुपुर गाउँपालिकाले ३ सय विपन्न गरिब घर परिवारलाई कम्बल वितरण गरिएको छ। गाउँपालिकाको पाँच वटै वडाका ७५ वर्ष नाघेको वुद्धा, दलित, अपांग, सुत्केरी महिला र असहाय बालबालिका तथा अति विपन्न परिवारलाई कम्बल वितरण गरेको गाउँपालिका प्रमुख जागेश्वर यादवले बताए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।