सुर्खेत– प्रदेश नम्बर ६ का हिमाली जिल्लामा फैलिएको भाइरल ज्वरोका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ। पछिल्लो दुई सातामा हुम्ला र जाजरकोटमा गरी १५ जनाले ज्यान गुमाएका छन्।
जाजरकोटमा ९ र हुम्लामा ६ जनाले ज्यान गुमाएका हुन्। दुवै जिल्लामा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन्।
चिसो बढेसँगै फैलिएको भाइरल ज्वरोबाट वृद्धवृद्धा र बालबालिका बढी प्रभावित भएका छन्। भाइरलका कारण जाजरकोटमा मात्रै दुई हजार जनाभन्दा बढी बिरामी परेको जिल्ला जनस्वास्थ्य कार्यालय जाजरकोटले जनाएको छ। कार्यालयका अनुसार, जिल्लामा ४ जना वृद्धवृद्धा र ५ जना बालबालिकाको मृत्यु भइसकेको छ।
जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भाइरलको प्रकोप बढी देखिएको छ। यहाँ ५ वर्षमुनिका बालबालिका र ६० वर्षमाथिका वृद्धवृद्धामा भाइरल बढी पाइएको स्थानीय स्वास्थ्य चौकीका अहेब हरिबहादुर सिंहले जानकारी दिए।
उनका अनुसार भाइरल फैलिएपछि जिल्ला जनस्वास्थ्य कार्यालयको समन्वयमा जुनीचाँदेको मजकोटमा शनिबारदेखि घुम्ती शिविर सञ्चालन गरिएको छ। शनिबार मात्र शिविरमा दुई सयभन्दा बढीले उपचार गराएको सिंहले जानकारी दिए।
भाइरल ज्वरो प्रभावित क्षेत्रमा अहिले औषधिसहितको स्वास्थ्यकर्मीको टोली पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।