काठमाडौं- सरकारद्वारा विभिन्न देशका लागि सिफारिस भएका ४ राजदूतमध्ये सोमबार बंगलादेशका लागि सिफारिस भएका डा वंशीधर मिश्रमाथि सुरुमै सुनुवाइ भयो।
करिब सवा एक घन्टाको सुनुवाइको सुरुवातमा मिश्रले आफ्नो परिचय र नेपालको घेरेलु राजनीतिमा पुर्याएको योगदानबारे चर्चा गरे।
आफू राजदूतका लागि सिफारिस भएको देश बंगलादेशको परिचयमै धेरै अल्झिएपछि संसदीय सुनुवाइ विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले उनलाई बीचमै रोके। आफू राजदूत भएपछिका कार्ययोजना भन्न लगाए।
मिश्रले पनि त्यसैअनुसार आफ्ना कार्ययोजना सुनाउन थाले। उनले शिष्टाचार भेटघाट, राजनीतिक सम्बन्ध स्थापना र उच्चस्तरीय भेटघाटलाई प्राथमिकता दिने योजना सुनाए।
त्यस्तै नेपाल-बंगलादेशबीच हवाई सेवा सुचारु गर्ने र दुई देशबीच कनेक्टिभिटी बढाउने प्रतिबद्धता पनि जनाए। मुलतः आफ्नो प्राथमिकता आर्थिक कुटनीति हुने र त्यसमा उर्जा व्यापार र पर्यटनलाई जोड दिने योजना सुनाए। कार्ययोजना सुनाउँदा पनि धेरै समय लाग्ने भएपछि आफ्नो प्रस्तुति छोट्याउन समिति सभापति कर्णले पुनः भने।
मिश्रले अन्तिम एक मिनेटको समय मागे। त्यही एक मिनेटको समयमा उनले आफ्नो एउटा योजना सुनाए जसले मिश्रलाई विवादित बनायो। सांसदको खप्की खानुपर्यो।
नेपालाई लाभ हुने भन्दै उनले ‘एक प्रयास, तीन लाभ’को योजना डा मिश्रले सुनाएका थिए। उनको त्यो योजनामा चुरे क्षेत्रको पहाड काटेर त्यहाँका ढुंगा बंगलादेशलाई बेच्ने र पैसा कामाउने प्रस्ताव थियो।
‘महाभारत श्रृंखलाका कयौं पहाड छन्, जो भूगर्भविदको नजरमा त्यसलाई काट्न हुन्छ,’ उनको प्रस्ताव थियो, ‘त्यसलाई काटेर चुरेमा रहेका बस्ती अन्तै सार्ने र त्यो ढुंगा बंलादेशलाई निर्यात गर्ने।’
उनी त्यतिमै रोकिएनन्। आफूसँगको अनौपचारिक कुराकानीमा बंलादेशका लगानीकर्ता एक खर्बको अर्डर अहिले नै दिन तयार भएको पनि सुनाए। भने, ‘मसँगको अनौपचारिक कुराकानीमा एक खर्बको अहिले नै अर्डर दिन सक्छौं भनेको छ। हामीले ढुंगा मात्रै निकासी गर्न सक्यौं भने धेरै उपलब्धि गर्न सकिन्छ। त्यसबाट तीन वटा लाभ हुन्छ। स्वभाभिक रुपले व्यापार, पर्यटन र उर्जामा लगानी गर्न सकिन्छ।’
प्रस्तावित राजदूतका योजना सुन्न आएका समितिका सदस्यहरुले जब योजना सुने तब कान ठाडा बनाउन थाले। उनीहरु चनाखो मात्रै भएनन् प्रस्तावित राजदूत मिश्रको योजना सुनेर उनीमाथि खनिए पनि। त्यसको सुरुवात गरे सांसद भीमसेनदास प्रधानले।
उनले प्रस्तावित ‘एक प्रयास, तीन लाभ’को योजना आफूले नबुझेको भन्दै चुरे कटान होइन बचाउन तर्फ लाग्नुपर्ने बताए। यस्ता कुरामा व्यापारका दृष्टिले मात्रै हेर्ने नभई वातावरणीय दृष्टिले समेत हेर्नु पर्ने बताए।
सांसद राजेन्द्र श्रेष्ठले पटक-पटक सांसद भएको र राजनीतिमा सक्रिय भएको मान्छे राजनीतिमै रहेको भए बेस हुन्थ्यो भन्ने सझाव सुरुमा दिए। अनि सुरु गरे आलोचना। चुरेलाई खाली बनाउने र त्यहाँको पहाड काटेर ढुंगा बेच्ने योजना सही नभएको टिप्पणी गरे। ‘चुरेलाई खाली बनाउने भन्ने प्रस्ताव उहाँको छ, यो उपयुक्त हो त?,’ श्रेष्ठको भनाइ थियो, ‘यस्तो कुरा राखिहाल्नु हुन्न भन्ने मेरो प्रस्ताव हो। यहाँको ढुंगा बेचेर चुरे खाली बनाउने कुरा व्यवहारिक लागेन।’
त्यसपछि बोलेकी सांसद पूर्णकुमारी सुवेदीले सम्रगमा प्रस्तावित राजदूतको प्रस्तुति राम्रो भएको बताइन्। तर, चुरेको पहाड कटानको विषयमा भने उनले पनि अरु सांसदले जस्तै मत जाहेर गरिन्। ‘वातावरणीय विषयले धेरैको ध्यानाकर्षण गर्यो,’ उनको भनाइ थियो,‘ यसलाई संवेदनशील भएर हेर्नुपर्छ।’
सांसद जितेन्द्रनारायण देवले उत्ताउलो हुन नहुने, कम बोल्नुपर्ने र धेरै सुन्नु पर्ने लगायतका गुण राजदूतलाई आवश्यक हुने भन्दै सुझाव दिए। र, त्यसपछि चुरेकै विषयमा राखेको प्रस्तावलाई लिएर मिश्रको आलोचना गरे।
उनले सरकार र मुख्य राजनीतिक दलले समेत बोली नसेको विषय कोट्याउनु आवश्यक नरहेको बताए। ‘सरकार, मुख्य राजनीतिक पार्टीले बोली नसकेको विषयलाई दस्तावेजीकरण गर्नु हुँदैन,’ उनको भनाइ थियो, ‘नेपालले धरणा नबनाइसकेको विषयलाई कोट्याउनु हुँदैन।’
सांसद सुरेन्द्र पाण्डेले धेरै विषयमा प्राथमिकता छरिएको भन्दै स्पष्ट किटान गर्नुपर्ने सुझाए।
सांसदको आलोचनाले तातिएको मोहल सांसद पार्वत गुरुङको ठट्टा मिश्रित प्रश्नले शान्त बनाइदियो। ‘तपाई सांसद पनि हुनुभयो। रमाइलो सांसद हुँदा रहेछ कि राजदूत बन्दा?,’ उनको प्रश्न थियो।
आफूले राखेको प्रस्तावले आलोचना निम्ताएपछि पुनः प्रस्तावित राजदूत मिश्रले उठेका प्रश्नको उत्तर दिने मौका पाए।
आफूले प्रस्ताव राख्नुका कारण खुलाउँदै अन्तिममा उनले त्यो प्रस्ताव फिर्ता पनि लिए। उनले सुरुमा यसरी गरे आफ्नो प्रस्तावको बचाउ गरे-
'नेपालको सकारले प्रस्ताव गरेको त छैन। तर, विभिन्न विद्धान्ले यस्ता कुरा धेरै ठाउँमा उल्लेख गरेका छन्। तथापि बस्ती नयाँ बसाउने कुरा नेपाल सरकारले पनि गरिरहेको छ। मैले देखेको र अलिकति यहाँले गम्भीरतापूर्वक ध्यान दिनुभयो भने चुरे क्षेत्रका बासिन्दालाई पनि स्थानान्तरण गर्ने कुरा पहिले पनि भएको हो। कतिपय ठाउँमा सुरु पनि भयो। रौतहटमै जंगल काटेर नयाँ बस्ती बसाइएको छ। अहिले पनि थोरै बसोबास चुरे क्षेत्रमा छ।'
'चुरेबाट बस्ती हटाउने भनेको बलपूर्वक होइन। यदि हटाउने हो भने उहाँहरुको अहिले जति जग्गा जीमन छ, त्यो भन्दा दोब्बर दिनुपर्छ। त्यस्तो गर्नका लागि संसारमा थुप्रै भूगर्भविदले कुन-कुन पहाड काट्न हुन्छ भनेर सुझाव दिएका छन्। त्यसपछि काटेका छन् र काटेको इतिहास छ। मैले आफ्नै आँखाले यहाँबाट हेटौडा जाँदा सिस्नेरीमा एउटा पहाडा देखेको थिएँ। अहिले त्यहाँ केही पनि छैन। एउटा ठिंग उभिएको पहाड मात्रै छ। त्यसले वातावरणमा केही पनि असर गरेन।'
त्यसपछि उनी आफ्नो प्रस्तावबाट पछि हटे। ‘यो विषय अझैँ पनि उठाउन लायक भएको रहेनछ भन्ने मेलै महसुस गरेँ,’ प्रस्ताव फिर्ता लिँदै उनले भने, ‘त्यसो भएको हुनाले म यो विषयबाट पछि हट्छु अहिले।’
उनले आफू चुरे जोगाउने कुरामा कुरामा संवेदनशील रहेको पनि सुनाए, ‘तर, मेरो भित्र हृदयमा के छ भने, यदि हामीले चुरे जोगाउन सकेनौं भने नेपालका लागि चाहिँ त्यो धेरै ठूलो ‘डिजास्टर’ हुन्छ। नेपालको हित चाहने व्यक्तिले चुरे छुनै हुँदैन।’
उनले फेरी आफ्नो प्रस्तावको बचाउ गरे। मलाई के लाग्यो भने सरकारको घोषित नीति छ- सहर बसाउने,’ उनको पश्न थियो, ‘त्यसो भए कहाँ बसाउने त? यस्ता पहाड जुन काम लाग्दैन, जहाँका जनताले नै लाभ पाउँछन्। जनतासँग समन्वय गरेर। व्यापक सर्वेक्षण गरेर। यस्ता विषय कमसे कम छलफलमा आइदिए राम्रै हुन्छ कि जस्तो मलाई लाग्छ। मैले कयौं दस्तावेजमा अध्यन गरेको छु, राजनीतिक पार्टीको होइन अन्य विज्ञको हो। त्यसका आधारमा मैले यो प्रस्ताव राखेको हुँ।’
अन्तमा फेरी अहिले यो विषय परिपक्व भइनसकेको भन्दै यो विषयलाई अब नउठाउने प्रतिवद्धता सांसदहरुसँग डा मिश्रले जनाए। ‘तर, पनि अहिले यो परिपक्व भइनसकेको जस्तो लागेर म यो विषयलाई चाहिँ नउठाउने यहाँहरुसँग प्रतिबद्धता व्यक्त गर्छु,’ उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।