काठमाडौं– एजुकेशल कन्सलटेन्सीको आवरणमा दुई युवकले दजनौ युवाहरुलाई अफ्रिका पुर्याएर बिच्चली बनाएका छन्। कलंकीमा करिअर हब एजुकेशन कन्सलटेन्सीमार्फत चन्द्रागिरीका चित्र प्रसाद ढुंगेल र उनका भाई लेखनाथ ढुंगेलले दक्षिण अफ्रिकामा मानव तस्करी गर्दै आएका हुन्।
दुवै जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको छ। पक्राउ परेपछि उनीहरुविरुद्ध उजुरी बढ्दै गएको सिआईबीका एसपी जीवनकुमार श्रेष्ठले बताए।
केहीलाई उनीहरुले दक्षिण अफ्रिकामै पु¥याएका थिए भने केही दिल्लीबाट फर्किएका हुन्। केहीलाई दक्षिण अफ्रिका पुर्याएर काममा पनि लगाइएको थियो। तर,पैसा नदिएर शोषण गरेपछि उनीहरु भागेर नेपाल आएका थिए। आकर्षक तलबको लोभमा ७ लाख रुपैयाँसम्म खर्च गरेर दक्षिण अफ्रिका पुगेका युवाहरु तलब समेत नपाएपछि आफ्नै खर्चमा फर्किएर उनीहरुको कार्यालय पुगेका थिए। उल्टो उनीहरुले पीडितलाई धम्की दिएका थिए।
पछिल्लो समय कार्यालय नै बन्द गरेर उनीहरु फरार भएका थिए। पीडितहरुको उजुरीका आधारमा प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।
दक्षिण अफ्रिका पुगेका व्यक्तिहरुलाई त्यहाँको मल्टिपल भिषा लगाइएको थियो। जून नक्कली पनि हुनसक्ने प्रहरी आशंका छ। हालसम्म १५ जनाले उनीहरुविरुद्ध उजुरी दिइसकेको र अरु पनि पीडितहरु हुनसक्ने सिआईबीका एसपी जीवन श्रेष्ठ बताउँछन्। पक्राउ परेका उपर मानव वेचबिखन मुद्दामा सिआईबीले कारबाही अघि बढाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।