माफ्रा राजदरबार।
लिस्बन- पोर्चुगाली नेताहरुले संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले पोर्चुगलका दुई स्थानलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरेकामा त्यसको स्वागत गरेका छन्।
युनेस्कोले माफ्रा राजदरबार र ब्रागास्थित बोम जेसुसलाई विश्व सम्पदा सूचीमा राखेको घोषणा गरेको थियो। अजरबैजानको बाकुमा सञ्चालन भइरहेको युनेस्कोको ४३औं सभाका अवसरमा उक्त घोषणा गरिएको थियो। जुन ३० मा सुरु भएको सभा यही जुलाई १० सम्म चल्नेछ।
पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सौसाले जारी गरेको वक्तव्यमा पोर्जुगाली नागरिकहरुका लागि यो अति नै खुसीको क्षण भएको बताएका छन्।
'यो निर्णयसँगै विश्व सम्पदा समितिले दुई वटा पोर्चुगाली सांस्कृतिक सम्पत्तिलाई विश्व सम्पदा सूचीमा राखेको छ। यो सँगै विश्व सम्पदा सूचीमा सूचीकृत पोर्चुगलका सम्पदाको संख्या १७ पुगेको छ। यो स्थानीय पोर्चुगालीको मात्र होइन मानवको जीवन्त इतिहासको संरक्षण हो,' उनले भने।
प्रधानमन्त्री एन्टोनियो कोस्टाले पनि ट्विट गर्दै युनेस्कोको निर्णयको स्वागत गरेका छन्।
युनेस्को विश्व सम्पदा सूचीमा हाल १ सय ६७ मुलुकका १ हजार ९२ स्थान सूचीकृत छन्। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।