काठमाडौं- ‘नेपाली राहदानीको शक्ति के हो?’ यो महत्वपूर्ण प्रश्न हो, किनभने यसमै जोडिन्छ- सम्बन्धित देश र उक्त देशका नागरिकको प्रतिष्ठा।
जति शक्तिशाली राहदानी, विदेश घुम्न उति नै सहज। उसो भए नेपाली राहदानीको शक्ति कति त? यसको शक्तिबारे सोधखोज गर्ने संस्था ‘हेल्नी पासपोर्ट’ले हालै सार्वजनिक गरेको रिपोर्टअनुसार नेपाली राहदानीको शक्ति १०२औं स्थानमा छ।
कुनै देशको राहदानीबाहकले विदेशमा बिना प्रवेशाज्ञा (भिजा) पाउने सहज पहुँचका आधारमा यस्तो शक्ति निर्धारण गरिन्छ।
१३ वर्षअघि नेपाली राहदानीको अवस्था अहिलेभन्दा मजबुत थियो। सन् २००६ मा नेपालको राहदानी ७६औं स्थानमा थियो। त्यसपछि निरन्तर नेपाली राहदानीको शक्ति खस्कँदै आएको छ।
सन् २०१५ मा नेपाली राहदानीको शक्तिमा अहिलेसम्मकै बढी मात्रामा ह्रास आएको थियो। सन् २०१५ मा नेपालको राहदानीको स्थान १०५ मा थियो।
२ जुलाईमा सार्वजनिक भएको हेल्नीको प्रतिवेदनअनुसार नेपालको राहदानीले ३८ अंक प्राप्त गरेर १०२औं स्थानमा परेको हो। यसको अर्थ हेल्नीले छानेका विश्वका २ सय २७ गन्तव्यमध्ये नेपाली राहदानी बाहकले ३८ गन्तव्यमा मात्रै बिना प्रवेशाज्ञा प्रवेश पाउँछन् भन्ने हो।
पहिलो स्थानमा भने जापान र सिंगापुरका राहदानी परेको छ। ती देशका राहदानी बाहकले विश्वका २ सय २७ गन्तव्यमध्ये १ सय ८९ गन्तव्यमा बिना प्रवेशाज्ञा प्रवेश पाउँछन्।
दोस्रोमा स्थानमा फिनल्यान्ड, जर्मनी र दक्षिण कोरियाको राहदानी परेको छ। विश्व शक्ति राष्ट्र अमेरिकाको राहदानी भने छैटौं स्थानमा परेको छ। अमेरिकी नागरिकले १ सय ८३ गन्तव्यमा बिना प्रवेशाज्ञा घुम्न पाउँछन्। अमेरिकासँगै रहेका छन्, बेल्जियम,क्यानडा, आयरल्यान्ड, नर्बे र बेलायत।
बोक्नलाई विश्वकै खराब नेपाली राहदानी
हेल्नीको प्रतिवेदनअनुसार नेपाली राहदानी विश्वका खराब राहदानीमध्ये एक हो।
नेपाली राहदानीबारे हेल्नी पासपोर्टको प्रतिवेदन
खराब राहदानी भएका देशको सूचीमा नेपालसँगै बंगलादेश, उत्तर कोरिया, लिबिया, सुडान, यमन, सोमालिया, पाकिस्तान, सिरिया, इराकलगायत छन्। विश्वकै खराब राहदानी भने अफगानिस्तानको हो।
नेपालको उत्तरी छिमेकी चीनको राहदानी भने ७४औं स्थान र दक्षिणी छिमेकी भारतको राहदानी ८६औं स्थानमा छ।
यसरी हुन्छ, राहदानीको शक्ति मापन
हेल्नी पासपोर्ट १४ वर्षदेखि राहदानीको शक्ति मापन गरिरहेको संस्था हो। विमान सेवाको व्यापार कम्पनी अन्तर्राष्ट्रिय हवाई यात्रा प्राधिकरण (आईएटीए)सँग मिलेर हेल्नी पासपोर्टले विभिन्न देशको राहदानीको शक्ति निर्धारण गर्ने गर्छ।
उक्त संस्थाले १ सय ९९ राहदानी र २ सय २७ यात्रा गन्तव्यलाई समेटेर वार्षिक रुपमा प्रतिवेदन सार्वजनिक गर्ने गर्छ यसको अनुसन्धान प्रक्रिया वर्षभर नै चल्ने गर्छ।
कुनै देशका नागरिक विश्वका जुनसुकै मुलुकको गन्तव्यमा जाँदा प्रवेशाज्ञा चाहिँदैन भने त्यस्तो राहदानीलाई १ अंक दिइन्छ। त्यस्तै कुनै गन्तव्यमा प्रवेश गर्दा सम्बन्धित गन्तव्य देशको विमानस्थलमै प्रवेशाज्ञा, भ्रमण अनुमति र विद्युतीय प्रवेशाज्ञा तत्काल पाउने देशको राहदानीले पनि १ अंक नै पाउँछ।
यात्रा गर्नुअघि प्रवेशाज्ञा चाहिने राहदानीलाई भने शून्य अंक दिइन्छ। यात्रा गर्नुअघि राहदानी बाहकलाई विमानस्थलमा सरकारको स्वीकृति चाहिने राहदानीलाई पनि शून्य अंक नै दिइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।