रत्ननगर- नेपालका विभिन्न जल क्षेत्रमा आजदेखि जलपक्षी (पानीचरा) को गणना सुरु भएको छ।
सिमसार क्षेत्रमा पाइने चराको अवस्था पत्ता लगाई यसको संरक्षणका लागि नयाँ रणनीति बनाउन चरा गणना गर्न लागिएको हो। गणनापछि तयार पारिएको प्रतिवेदन नीति निर्माणतहमा समेत पेश हुने चराविज्ञ तथा पक्षीविद् संघ नेपालका प्रमुख डा हेमसागर बरालले जानकारी दिए।
उनका अनुसार चरा गणना कार्य माघ ७ गतेसम्म चल्नेछ। गणनामा ३ सय स्वयंसेवक तथा चराविज्ञको सहभागिता रहनेछ।
आज पहिलो दिन शुक्लाफाँट र कोशीटप्पुबाट गणना गरिएको भन्दै डा बरालले अन्य क्षेत्रमा माघ ७ गतेभित्रमा आआफ्नो अनुकूलतामा देशैभरिको सिमसार क्षेत्रमा गणना हुने जानकारी दिए।
चितवनमा भने केही दिनमा गणना थालिने चराविज्ञ तथा वर्ड एजुकेशन सोसाइटी चितवनका पूर्वअध्यक्ष वासु बिडारीले बताए। अघिल्लो गणनामा चितवनमा ५४ प्रजातिका जलपक्षी भेटिएको थियो। तर चराको संख्या भने घट्दो क्रममा रहेको चराविज्ञले बताएका छन्।
यसपटक सिमसार सूचीमा सूचीकृत नेपालको ५ वटा तालमा समेत चराको गणना हुनेछ। मुख्यगरी चितवनको विसहजारी ताल, कपिलवस्तुको जगदिशपुरताल, पोखराको फेवाताल लगायत क्षेत्रमा पनि चराको गणना हुनेछ।
अघिल्लो अनुगमनमा चितवनमा सिमसार क्षेत्रभरि गरेर कुल १० हजार ३२ चरा गणना गरिएको वर्ड एजुकेशन सोसाइटी चितवनले जनाएको छ। त्यसको अघिल्लो वर्ष सिमसार क्षेत्रमा ११ हजार २६० वटा चरा भेटिएका थिए। जिल्लामा चराको संख्या ६३४ प्रजातिको अभिलेख छ। नेपालमा ८८७ प्रजातिका चरा छन्। अहिले विभिन्न देशबाट चरा नेपाल बसाइँ सरेर जाडो छल्न नेपाल आएका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।