बेनी, म्याग्दी- केही वर्ष अघिसम्म धौलागिरि गाउँपालिकाको गुर्जा जंगलमा भेटिने हाब्रे (रेडपान्डा) सिकारीको रोजाइमा पर्ने गरेको थियो। वन जंगलमा टुसा खोज्न जाने स्थानीयले घरेलु हतियारको प्रयोग गरेर सिकार गर्ने गरेका थिए।
पहिचान र प्रचारप्रसारको अभावमा स्थानीयले सिकार गर्ने गरेको भए पनि विश्व वन्यजन्तु कोषको सहयोग तथा हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत चेतना विस्तार भएपछि उनीहरु नै रेडपान्डा संरक्षणमा जुट्न थालेका छन्।
रेडपान्डा नेटर्वक र हिमाली संरक्षण मञ्चले गरेको खोजीमा जिल्लाकै अति विकट मानिने लुलाङ र गुर्जाको मरेनी, जलजला सामुदायिक वन तथा आसपासका क्षेत्रमा भेटिएको रेडपान्डाका बारेमा स्थानीयले जानकारी पाएपछि संरक्षण अभियान सुरु भएको हो।
अनुसन्धानकर्ताले रेडपान्डाको जानकारीसहित बस्ने बासस्थान समेत देखाइदिएपछि संरक्षणका लागि चासो बढेको धौलागिरि गाउँपालिका–१ गुर्जाका वडाध्यक्ष झकप्रसाद छन्त्यालले बताए। 'अहिले त रेडपान्डा संरक्षणमा स्थानीयवासी निकै सक्रिय छन्। विद्यालयका विद्यार्थीले समेत यसबारे शिक्षा पाइसकेका छन्,' उनले भने।
रेडपान्डा नेटर्वकले जंगलमा बासस्थान फेला पारेपछि लुलाङ र गुर्जाका स्थानीयवासी, विद्यालयमा अध्ययनरत विद्यार्थीलगायत विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेका गाउँलेलाई जानकारी गराएका थिए ।
नेपालको एकमात्रै सिकार आरक्ष ढोरपाटनसँग सिमाना जोडिएको गुर्जा, लुलाङमा रतुवा, घोरल, मृग, बँदेलसहितका जंगली जनावर पाइने जंगलमा लुकीछिपी वनयजन्तुको तस्करी हुने गरेको छ। लोपोन्मुख अवस्थामा रहेको रेडपान्डालाई समेत निसाना बनाउन सक्ने भन्दै समितिले नियमित गस्ती, जनचेतनामूलक कार्यक्रम, बासस्थान आसपासको क्षेत्रमा आवतजावतमा कडाइ गरेको छ।
प्रारम्भिक अनुसन्धानमा ५५ वटा रेडपान्डा भेटिए पनि गाउँपालिका अन्तर्गतमा सामुदायिक तथा राष्ट्रिय वनमा २ सयको हाराहारीमा रेडपान्डा रहेको अनुमान गरिएको छ।
समुद्री सतहबाट २ हजारदेखि ४ हजार ८ सय मिटरको उचाइमा अवस्थित चौडापाते र कोणधारी मिश्रित जंगलमा निगालोको झाडीमा बस्ने हाब्रेलाई सरकारले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत संरक्षितको सूचीमा राखेको छ।
निगालोको टुसालाई आहाराको रुपमा प्रयोग गर्ने रेडपान्डासहित वनयजन्तुको तस्करी नियन्त्रणका लागि स्थानीयवासीलाई सहयोग गर्ने धौलागिरि गाउँपालिका उपप्रमुख रेशम छन्त्यालले बताए।
हेर्दा आर्कषक र लजालु स्वभावको रेडपान्डा हलुका रातो, सेतो र कालो रङमा पाइन्छन्। नेपालको २४ वटा जिल्लामा हाब्रे पाइने रेडपान्डा नेटवर्कले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।