काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आन्तरिक उडानतर्फ थप गन्तव्य विस्तार गर्ने भएको छ।
नयाँ गन्तव्यमा उडान थप्न विमान भित्र्याउनेदेखि दक्ष जनशक्ति पाइलट व्यवस्थापनमा जुटेको निगमले जनाएको छ।
हाल दुई वटा वाई-१२ विमानबाट आन्तरिक उडान भर्दै आएको निगमले चीनबाट थप दुई विमान ल्याउँदैछ। तीन महिनाभित्र चीनबाट नयाँ जहाज आइपुग्ने र नयाँ गन्तव्यमा उडान लैजाने तयारी भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए।
दाङको तुल्सीपुर विमानस्थलमा निगमले उडान भर्ने तयारी गरेको हो? भन्ने जिज्ञासामा प्रवक्ता श्रेष्ठले भने, 'तत्कालै त्यस्तो योजना छैन, अहिले पाइलट पनि छैनन्। भएका विमानलाई गन्तव्यमै नियमित उडान भर्न समस्या छ। पछि विमान थपिए विस्तार गरिन्छ।'
निगमले सानो विमानले काठमाडौँबाट सिधा ६ र विराटनगर तथा नेपालगञ्जबाट ११ भन्दा बढी गन्तव्यमा आन्तरिक उडान भर्दै आएको छ।
अन्तर्राष्ट्रियतर्फ हाल विभिन्न मुलुकका ८ गन्तव्यमा एक बोइङ नाइन एसिबी- ५७५ र एयरबस ए-३२० विमानबाट उडान भइरहेको छ।
निगमले थप दुई वाइड बढी विमान आगामी बैसाखसम्म भित्र्याएर अन्य गन्तव्यमा उडान भर्ने तयारी गरेको छ।
यसैबीच, लामो समयदेखि अवरुद्ध भएको दाङको हवाईसेवा पुनः सञ्चालन हुने भएको छ। आइतबारदेखि समिट एयरले तुलसीपुरदेखि काठमाडौँका लागि हप्तामा दुईपटक उडान भर्ने सहमति जनाएपछि हवाईसेवा सञ्चालन हुने भएको हो। तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेय र यस क्षेत्रका जनप्रतिनिधिको पहलमा अवरुद्ध हवाई सेवा सञ्चालनका लागि पहल गरिएको हो।
थप समाचार- दाङमा आइतबारदेखि हवाईसेवा सञ्चालन हुने
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।