काठमाडौं– एक वर्षअघि पारित भए पनि प्रकाशन नभएको नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक प्रतिवेदन भोलि प्रकाशनमा जाने भएको छ।
नेपाल दुरसञ्चार राष्ट्रिय कर्मचारी संगठन एकता महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार अर्का अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटले प्रतिवेदनमा सहमति जुटेको बताएका हुन्।
'एक वर्षदेखि सम्पूर्ण रुपमा सहमति भएर प्रकाशनमा जान नसकेको राजनीतिक प्रतिवेदन टुंग्याइएको छ', उनले भने, 'त्यो भोलि प्रकाशनमा जाँदै छ।'
उनले पार्टी एकताको सन्दर्भको एउटा ठूलो काम भएको दाबी गरे। उनले राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक नीतिमा अन्योल रहेको उनले बताए। 'आजबाट त्यो अन्योलको अन्त्त्य गर्ने हामीले निर्णय गरेका छौं', उनले भने।
माधव नेपाल संयोजकत्वको कार्यदलले तयार गरेको राजनीतिक प्रतिवेदन मातहतका संगठनबाट पारित भए पनि प्रकाशन भएको थिएन।
पछिल्लो समय पार्टीको वैचारिक लाइनका विषयमा विवाद बढ्न थालेपछि त्यसलाई प्रकाशन गर्नुपर्ने दबाब बढेको थियो।
दुई अध्यक्षबीच पटकपटक छलफल भए पनि कहिले प्रकाशनमा जाने टुंगो लागेको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।