काठमाडौं- मुक्तिनाथ विकास बैंक र खल्ती डिजिटल वालेटबीच डिजिटल भुक्तानी सेवा प्रदान गर्न सम्झौता भएको छ। मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख सञ्चालन अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङ र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले आइतबार उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौता अनुसार अब मुक्तिनाथ विकास बैंकका ग्राहकले उक्त बैंकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सकिने भएको छ। यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास बैंकले लिएको छ।
सम्झौताबारे बोल्दै मुक्तिनाथ विकास बैंकका प्रमुख सञ्चालन अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गुरुङले भने, 'हामी प्रविधिको प्रयोग गरेर बैंकिङ्ग तथा वित्तीय समस्या समाधान गर्न लागिपरेका छौं, ग्राहकहरुले मोबाइलबाटै सबै किसिम सेवा प्राप्त गर्न सक्नेछन्।'
त्यसैगरी खल्तीका निर्देशक ध्रुव अधिकारीले भने, 'हामी मुक्तिनाथ विकास बैंकसँग यो सम्झौता गर्न पाउँदा उत्साहित छौँ। अब मुक्तिनाथ विकास बैंकका ग्राहकले बैंकबाट नगद झिकिराख्ने झन्झट गर्नुपर्दैन।'
सन् २०१७, जनवरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती उदीयमान पेमेन्ट गेटवे हो। खल्तीको मोबाइल एप तथा वेबसाइट प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इन्टरनेट तथा डिटिएचको बिल भुक्तानी, बिमाशुल्क भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ आदि गर्ने, इ-कमर्स भुक्तानी, दैनिक पत्रिकाहरुको ग्राहक–शुल्क तिर्नेलगायतका सेवा लिन सकिन्छ। हाल खल्ती प्रयोगकर्ताको संख्या ८ लाखभन्दा बढी रहेको कम्पनीले दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।