नुवाकोट- बाहिरी जिल्लासँग सीमा जोडिएको नुवाकोटका दुई स्थानमा नेपाल प्रहरी युनिट (पोस्ट) एवं प्रहरी जाँच केन्द्र स्थापना भएको छ।
अस्थायी प्रहरी युनिट स्थापनाअन्तर्गत शिवपुरी गाउँपालिका–६ समुद्रादेवीको गुर्जेभञ्ज्याङमा शुक्रबारदेखि प्रहरी एकाइ सञ्चालनमा आएको नुवाकोट प्रहरी प्रमुख वसन्तबहादुर कुँवरले जानकारी दिए। जिल्ला सुरक्षा समितिको यही पुस १३ गते बसेको बैठकले अस्थायी प्रहरी एकाइ स्थापना गर्ने निर्णय गरेअनुसार गुर्जेभञ्ज्याङमा प्रहरी सहायक निरीक्षकको नेतृत्वमा सात जनाको प्रहरी टोलीले सेवा दिन थालेको हो।
छहरे–टोखा–काठमाडौं सडकखण्ड अन्तर्गतको सीमा नाका, जिल्ला सदरमुकामदेखि ४० किमी टाढाको दूरी तथा ककनी–सिक्रे र सिन्धुपाल्चोकसँग चौबाटाका रुपमा रहेकाले नागरिक सुरक्षाका लागि गुर्जेभञ्ज्याङमा प्रहरी एकाइ स्थापना गरिएको प्रहरीले जनाएको छ।
प्रहरी उपरीक्षक कुँवरका अनुसार नयाँ स्थापित प्रहरी एकाइले काठमाडौँतर्फ जाने र आउने सवारी साधन तथा यात्रुको जाँच गरी सुरक्षा व्यवस्था मजबुत बनाउन प्रयत्न गर्नेछ।
यस्तै सुरक्षा समितिको निर्णयअनुसार तार्केश्वर गाउँपालिका–१ दाङसिंहमा पनि अस्थायी प्रहरी एकाइ स्थापना गर्न आवश्यक तयारी अन्तिम चरणमा पुर्याइएको छ।
तार्केश्वर गाउँपालिकाभित्र तारुकामा प्रहरी चौकी भए पनि भौगोलिक रुपमा दाङसिंह सहित आसपासको क्षेत्र प्रहरी एकाइबाट टाढाको दूरीमा पर्ने, धादिङसँग सीमा जोडिएको नाका क्षेत्र, नुवाकोटदेखि धादिङसम्म जोडिएको प्रमुख ग्रामीण सडकखण्ड पर्ने र भौगोलिक रुपमा समेत जिल्ला सदरमुकामदेखि २५ किमीको दूरीमा रहेकाले प्रहरी एकाइ स्थापना गर्न लागिएको प्रजिअ वीरेन्द्र यादवले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।