काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भारतलगायत तेश्रो मुलुकबाट नेपाल भित्रिने तरकारी तथा फलफूललाई विषादी परीक्षण नगर्ने निर्णयप्रति सरकारको ध्यानाकर्षण गराएको छ।
राष्ट्रियसभाको आइतबारको बैठकको ढ्यापढ्यापे समयमा बोल्दै नेपाली कांग्रेसका तर्फबाट राष्ट्रियसभा सदस्य अनिता देवकोटाले आयातित तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयप्रति सरकारको ध्यानाकर्षण गराएकी हुन्।
उनले कसैको दबाबमा आएर सरकारले जनताको स्वास्थ्यमाथि खेलवाड गर्न नमिल्ने भन्दै आफ्नै निर्णय फिर्ता गर्नुपर्ने अवस्थाबारे सरकारले सदनलाई यथार्थ जानकारी गराउन माग गरिन्।
सांसद देवकोटाले भनिन्, 'यो कस्तो गाइजात्रा हो सभाध्यक्ष ज्यू? आफैं निर्णय गर्ने अनि आफैं फेरि कार्यान्वयन नगर्ने? निर्वाचनको बेलामा महान राष्ट्रवादीको नारा र भाषण दिने अहिलेको सरकार कसैको दबाबमा आएर लल्याकलुलुक परेर फेरि आफ्नो निर्णयबाट फिर्ता हुने यो कस्तो राष्ट्रवाद हो? अहिले सरकारको राष्ट्रवाद कुन दूलोभित्र छिरेको छ?'
उनले विषादीयुक्त तरकारी तथा फलफूल आयातमा कडाइका साथ रोक लगाउन र त्यस कार्ययोजनाबारे सदनलाई जानकारी गराउन सरकारको ध्यानाकर्षण गराइन्।
असार २ गते राजपत्रमा प्रकाशित गरी आयातित तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने निर्णय गरेको सरकारले आफनै निर्णय उल्ट्याउँदै तत्कालका लागि विषादी परीक्षण नगर्ने निर्णय गरेपछि यसको सर्वत्र विरोध हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।