काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। पार्टीको आन्तरिक र समसामयिक राजनीतिक विषयमा छलफल गर्न बैठक बस्न लागेको हो।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने बैठकमा नियमावली संशोधन मस्यौदा समितिद्वारा प्रस्तुत नियमावलीमा छललफल भई प्रतिवेदन पारितसमेत हुनेछ। विधानको नियमावली पारितसँगै पार्टी संरचना गठनको बाटो खुल्नेछ।
बैठकमा पहिलो चरणको जागरण अभियानको समीक्षा, दोश्रो चरणको जागरण अभियानको तयारीका विषयमा पनि छलफल हुने बताइएको छ।
भंग गरिएको नेपाल विद्यार्थी संघको तदर्थ समिति गठनका बारेमा पनि छलफल हुनेछ। आजको बैठकमा आफ्नो समूहको धारणा तय गर्न सभापति शेरबहादुर देउवा पक्षले बुढानिलकण्ठ र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले महाराजगन्जमा शनिबार छलफल गरेका थिए।
त्यस्तै, बैठकमा भातृ एवं शुभेच्छुक संस्थाको विधान र समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।