राजविराज– एक सातादेखिको शीतलहरका कारण सप्तरीमा मृत्यु हुनेको संख्या ६ पुगेको छ। शुक्रबार महदेवा गाँउपालिका २ अकवरपुरका ५८ वर्षीय सुकदेव यादवको जाडोका कारण मृत्यु भएपछि मृत्यु हुनको संख्या ६ पुगेको हो।
बिहान ५ बजे नहर किनारमा शौच गर्न गएका यादव चिसोले कठ्याङिग्रएर ढलेका थिए। उनको उपचारका लागि अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको स्थानीय रामदेव यादवले जानकारी दिए।
बिहीबार राति राजविराज नगरपालिका वार्ड नम्बर २ का ६० वर्र्र्षीया नाजो बेगम र वार्ड नम्बर १० झल्हीका ६५ वर्र्षीया कैलीदेवी खंगको मृत्यु भएको वडा अध्यक्ष अरुण यादवले जानकारी दिए।
यसअघि छिन्नमस्ता गाउँपालिका १ बरहीका ३५ वर्षीय रामदयाल राम, विरपुरका ३६ वर्षीय कुलदीप राय र ७२ वर्षीया रजियादेवी रायको जाडोका कारण मृत्यु भएको थियो।
सरकारी विद्यालय बन्द, निजी स्कुलमा परीक्षा
शीतलहरका कारण मान्छेको मृत्यु र बालबालिका प्रभावित हुन थालेपछि सप्तरीका सामुदायिक विद्यालय बन्द भएका छन्। तर, निजी विद्यालय भने हालसम्म बन्द गरिएको छैन।
शीतलहर सुरु भएसँगै कतिपय निजी विद्यालयले परीक्षा लिन सुरु गरेका छन्। जाडोले घरबाहिर निस्कन समेत मुस्किल भएको बेला विद्यालयले परीक्षा सुरु गरेपछि बालबालिका थुरथुर काम्दै विद्यालय जान वाध्य भएका छन्।
प्रतिकूल मौसममा पनि परीक्षाको नाममा विद्यालय सञ्चालन गरेर निजी विद्यालयले बालबालिकाको स्वास्थ्यमाथि खेलवाड गरिरहेको केही अभिभावकले गुनासो गरेका छन्। ‘परीक्षा त बहाना मात्रै हो,’ अभिभावक अनिलकुमार यादव भन्छन्, ‘विद्यालयहरुले शीतलहरलाई बाँकी÷वक्यौता असुल्ने माद्यम बनाएका हुन्।’
सप्तरीका प्याब्सन अध्यक्ष पञ्चदेव यादवले पनि निजी विद्यालय बन्द गर्ने निर्णय भई नसकेको बताए। मौसममा अझै सुधार नआए कार्यसमितिको बैठक बसेर बिदा दिने विषयमा निर्णय लिइने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।