डडेलधुरा- डडेलधुराका दुई स्थानमा शंकास्पद वस्तु भेटिएको छ। जिल्लाको परशुराम नगरपालिका–१० र ९ को वडा कार्यालयमा तालाबन्दी गरी तालाकै माथि शंकास्पद वस्तु भेटिएको परशुराम नगरपालिका-९ का वडाध्यक्ष रामेश सिंह बोहराले बताए।
नगरपालिको ८ नम्बर वडा कार्यालयमा पनि तालाबन्दी गरिएको छ। वडाध्यक्ष बोहराले भने, ‘वडा कार्यालयमा ताला लगाएर तालामाथी सकेट बम जस्तो देखिने वस्तु राखिएको छ, प्रहरी अहिले घटनास्थलमा पुगेको छ।’
शंकास्पद वस्तु भेटिएपछि प्रहरी टोली परिचालित गरिएको डडेलधुराका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए।
आजका लागि नेकपा (माओवादी)ले नेपाल बन्दको आह्वान गरेको छ। शंकास्पद वस्तु कसले राख्यो भन्ने यकिन नभएको प्रमुख जिल्ला अधिकारी पौडेले बताए।
यस्तै कैलालीका अधिकांश वडा कार्यालयमा तालाबन्दी गरिएको छ। नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कैलालीका अधिकांश वडा कार्यालयमा तालाबन्दी गरेको हो। धनगढी उप–महानगरपालिका क्षेत्रका १४ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको विप्लव समूहका एक नेताले बताए। तालाबन्दी गरिएका वडा कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्युरोको पर्चासमेत भेटिएको बताइएको छ।
वर्तमान सरकार राष्ट्रघाती, जनविरोधी र भ्रष्टाचार गर्नेतर्फ लक्षित भएको र त्यसकाविरुद्ध पार्टीले सुरु गरेको अभियानअन्तर्गत तालाबन्दी गरिएको पर्चामा उल्लेख गरिएको छ। आफ्नो पार्टीलाई वर्तमान सरकारले लगाएको प्रतिबन्धका विरुद्ध पनि चरणबद्ध आन्दोलन जारी रहेको पर्चामा लेखिएको छ।
यसअघि गएराति कैलालीको लम्कीचुहा नगरपालिकामा कार्यालयमै भेटिएका कर्मचारी र जनप्रतिनिधिलाई विप्लव समूहका कार्यकर्ताले थुनेका थिए।
यता कञ्चनपुरका ९ वटै स्थानीय तहमा विप्लव समूहले तालाबन्दी गरेको छ। पार्टीको सेती महाकाली ब्युरोको नामबाट तालाबन्दी गरिएका कार्यालयअगाडि संसदीय व्यवस्था अन्त्य र सरकार खारेजीको माग गरिएका पर्चासमेत छाडिएको छ।
नेकपाका कञ्चनपुर सेक्रेटरी राजेन्द्र विष्ट 'परिवर्तन'का अनुसार ९ वटै स्थानीय तहका कार्यालय र वडा कार्यालयमा तालाबन्दी गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।