फाइल तस्बिर
काठमाडौं- नेकपाका सांसदहरुले आफ्नै निर्णयबाट पछि हट्ने सरकारको कार्यशैलीले जनताप्रतिको विश्वास गुम्दै गएको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
संघीय संसद भवन नयाँ बानेश्वरमा शनिबार बसेको नेकपाको संसदीय दलको बैठकमा सांसदहरुले पर्याप्त छलफल गरेर मात्रै निर्णयमा पुग्न नेतृत्वलाई सुझाव दिएका हुन्।
गुठी विधेयक, आईफा अवार्ड र भारतबाट आयातित तरकारी तथा फलफुलमा प्रयोग भएको विषादी परीक्षण नगर्ने लगायतका विषयमा सरकारले गरेका निर्णय आलोचित भएको भन्दै सांसदहरुले त्यस तर्फ नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।
उनीहरुले सरकारका कतिपय राम्रा कामहरु पनि पार्टीको संयन्त्र विकास हुन नसक्दा जनतामाझ लैजान नसकिएको भन्दै पार्टी एकताको काम छिटो टुंगोमा पुर्याउनुपर्नेमा जोड दिएका थिए। त्यसैगरी तीन तहको सरकारबीच आवश्यक समन्वय हुन नसक्दा जनताले राज्य संञ्चालनको नयाँ स्वरुपको पूर्ण सरकारको अनुभव गर्न नपाएको र विकास निर्माणका कार्य पनि प्रभावित भएको भन्दै सांसदले त्यस तर्फ पनि आवश्यक पहल गर्न नेतृत्वलाई सुझाएका थिए।
सरकारले संसदमा प्रस्तुत गर्ने विधेयकका बारेमा संसदीय समितिमा पर्याप्त छलफल हुन नसक्दा प्रतिरक्षा गर्न नसकिएको गुनासो पनि सांसदहरुले गरेका थिए।
बैठकमा दुवै अध्यक्षले एक महिनाभित्र पार्टी एकताको सम्पुर्ण प्रक्रिया पूरा गर्ने विश्वास दिलाएका सांसद राम नारायण विडारीले जानकारी दिए। 'पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षदेखि सरकारका कामकारबाही तीब्र हुने आश्वासन दिलाउनु भएको छ,' सांसद् बिँडारीले भने।
यसअघिका संसदीय दलको बैठकमा सँधै नेतृत्वले निर्देशन दिने मात्रै काम भएको भन्दै विरोध हुँदै आएकोमा १६ गते सोमबार र शनिबारको बैठकमा सांसदले भनाइ राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।