काठमाडौं- नेपाली कांग्रेसका युवा नेताहरुले संविधान र लोकतन्त्र विरोधी सरकारका कामकारबाहीको सशक्त प्रतिकार गर्दै राष्ट्रहितका पक्षमा नेतृत्वदायी भुमिका निर्वाह गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन्।
शनिबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा युवा नेताले गुट-उपगुट र आन्तरिक विवादमा अल्झिदा कांग्रेसले सही ढंगले जनता र राष्ट्रप्रतिको भुमिका निर्वाह गर्न नसकेको भन्दै संगठन सुदृढ बनाई राष्ट्रहितमा एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका हुन्।
आइतबारदेखि सुरु हुन लागेको केन्द्रीय समिति बैठकमा पार्टी सुदृढीकरणका साथै लोकतन्त्र र संविधान विपरीत सरकारका निर्णयको प्रतिकारका लागि ठोस कार्यनीति बनाउनुपर्नेमा उनीहरुले जोड दिए।
केन्द्रीय सदस्य धनराज गुरुङले सरकार देश र जनताका लागि नभई छिमकी राष्ट्रलाई खुसी बनाउन लागि परेका बताए। उनले भने, 'मुलुकको अस्मिता, राष्ट्रियता र स्वाधिनताको रक्षाका लागि कांग्रेस टुलुटुलु हेरेर बस्न हुँदैन।'
केन्द्रीय सदस्य शंकर भण्डारीले दुई तिहाईको बलमा सरकारले लोकतान्त्रिक विधि, पद्धति, संस्कृति, राष्ट्रिय एकता र सद्भाव विरुद्ध राष्ट्रिय स्वाधीनता उपहास गर्ने काम गरेकाले राष्ट्रिय स्वाधीनता र अखण्डताको पक्षमा कांग्रेसले नेतृत्वदायी भुमिका निर्वाह गर्नुपर्ने आवश्यकता औल्याए।
'भारतबाट आयातित तरकारी तथा फलफुलको विषादी परीक्षण नगर्ने सरकारको निर्णय दुर्भाग्यपूर्ण छ,' उनले भने।
नेताहरु रामकृष्ण यादव र श्याम घिमिरेले संविधान अनुसार वडादेखि क्षेत्रीय समिति सम्मलाई पूर्णता दिएर महाधिवेशनमा गई पार्टीलाई शसक्त र सुदृढ बनाउनुपर्नेमा जोड दिए। नेता धनराज गुरुङले पार्टी नेतृत्वले त्याग र सदाचारको मार्गदर्शन भुलेकाले युवाहरु नेतृत्वका लागि जिम्मेवार भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याएका थिए।
आइतबारदेखि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।