काठमाडौं– समाजवादी पार्टीका संघीय अध्यक्ष डा बाबुराम भट्टराईले पार्टी छोडेर जानेहरूलाई धमिराको संज्ञा दिएका छन्।
पूर्व नयाँ शक्तिका उपल्लो तहका नेताहरू सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेपछि रुष्ट भट्टराईले समाजवादी पार्टीमा घुर्की देखाइ पद लिएको आरोप लगाएका छन्। समाजवादी पार्टीमा पद लिएपछि त्यसैको आडमा अलगअलग बार्गेन गरेर राम्रै लाभ लिएको उल्लेख गरेका छन्।
समाजिक सञ्जालमा भट्टराई लेख्छन्, ‘नेकपा पस्न लागेका केहीले यता घुर्क्याएर पद लिने र उता अध्यक्षद्वयसंग अलगअलग बार्गेनिङ गरेर राम्रै लाभ लिन लागेछन।’
'जता काफल पाक्यो उतै चरी नाच्यो' प्रवृत्ति निकै मौलाउँदैछ गएको उल्लेख गर्दै उनले भने, ‘डनहरू,व्यापारीहरू,क्रान्तिबाट थाकेकाहरू सत्ताधारी पार्टी पसेर रस चुस्न होडवाजी गर्दैछन्।’
समाजवादी पार्टीको गण्डकी प्रदेश उपाध्यक्ष भएका गुणाखर बस्यालप्रति पनि भट्टराई खनिए। २ दिन पहिले मात्र पोखरामा भएको नयाँ शक्ति र सघीयं समाजवादी फोरमको प्रदेशस्तरीय समायोजन भेलामा बस्यालले उपाध्यक्ष पद ग्रहण गरेका थिए।
भट्टराई लेख्छन्, ‘सबैका सामुन्ने समाजवादी विचार र पार्टीप्रति बफादारीको सपथग्रहण गर्ने र प्रदेश उपाध्यक्ष पद हत्याउने, तुरून्तै अपराधिक शैलीमा भूमिगत हुने र अर्को पार्टीमा प्रवेश गर्ने?’
बस्यालको शैलीलाई उनले धमिरा शैली भएको उल्लेख गरेको छन्।
बस्याल पहिलो संविधान सभामा पर्वत–२ बाट निर्वाचित भएका थिए। सभासद् रहेकै समयमा नयाँ बसपार्कस्थित एक होटल सञ्चालक महिला लिएर उनी फरार भएका थिए।
उपचाररत श्रीमतीलाई बेवास्ता गर्दै अर्की महिला लिएर फरार भएपछि उनलाई पार्टीले कारबाही गरेको थियो। लामो समय निष्क्रिय रहेका बस्याल पछिल्लो समय भट्टराईसँगै थिए।
युद्धकालका भट्टराईका सारथी अर्का नेता देबेन्द्र पराजुलीले पनि उनलाई छाडेका छन्। अखिल क्रान्तीकारीको दुई कार्यकाल अध्यक्ष बनेका पराजुली नयाँ शक्ति र फोरमको एकताप्रति सन्तुष्ट थिएनन्।
पराजुलीको श्रीमती समेत रहेकी पूर्वमन्त्री कल्पना धमला पनि नेकपा प्रवेश गरेकी छन्। साथै, महिला नेतृ मनु चापागाईं पनि सत्तारुढ दलमा प्रवेश गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।