काठमाडौं– ठगी मुद्दामा पक्राउ परेका क्रिकेटर पृथु बाँस्कोटा २३ दिनपछि धरौटीमा छुटेका छन्। जिल्ला अदालत काठमडौंले उनलाई शुक्रबार ४५ हजार धरौटीमा छाड्ने आदेश दिएको हो।
डेजा भू क्लबका संचालक रहेका बाँस्कोटा अमेरिकन डिजे मार्समेलोलाई ल्याउने भनेर टिकट बेचेर ठगी गरेको आरोपमा पक्राउ परेका थिए। पक्राउ परेका उनीसहित सातै जना शुक्रबार धरौटीमा छुटेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीले बताए।
प्रहरीले कार्यक्रमका २ आयोजक र ५ जना क्लब संचालकलाई पक्राउ गरेको थियो। आयोजकहरुलाई अदालतले २÷२ लाख तथा क्लब संचालकहरुलाई ४५÷४५ हजार धरौटी मागेको हो। मंगलबार जिल्ला अदालत काठमाडौंमा पृथुसहित १० विरुद्ध ३३ लाख २६ हजार रुपैयाँ बिगो दाबी गरी ठगी मुद्दा दायर गरिएको थियो।
डिजे मार्समेलो नआएपछि गत मंसिर २७ दरबारमार्गको डेजा भू नाइट क्लबमा तोडफोड भएको थियो। सोही घटनाको अनुसन्धानका लागि उनीहरु पक्राउ परेका थिए।
पृथुसहित सञ्चालकहरु जयन श्रेष्ठ, मयंक खड्का, विशाल डाँगी र आयोजकहरु रितेश माडवारी र राजेश महर्जलनाई पनि मुद्दा दायर गरिएको थियो। पृथुसहित सात जनालाई मंसिर २८ गते प्रहरीले पक्राउ गरेको थियो। आयोजक रहेका माडवारी र महर्जन २÷२ लाख रुपैयाँ धरौटी राखेर छुटेका छन्।
प्रहरी अनुसन्धानमा मार्समेलो काठमाडौं आएको तर बिरामी भएपछि क्लब जान नसकेको खुलेको छ। होटल द्वारीकाजमा बसेका उनलाई फुड प्वाइजन भएको थियो। बिरामी भएपछि उनले फेसबुक र ट्वीटरमार्फत माफि मागेका थिए। कार्यक्रमका आयोजक र संचालकले भने टिकटको पैसा फिर्ता दिने मौका समेत नदिई आफुहरुलाई पक्राउ गरेर अन्याय गरेको आरोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।