काठमाडौं- भारतमा आर्थिक वर्ष सन् २०१९/२० को बजेट पेस भएको छ। बजेट भारतकी प्रथम महिला अर्थमन्त्री निर्मला सीतारमणले त्यहाँको संसद् लोकसभामा आज पेस गरेकी हुन्।
उनले शुक्रबार पेस गरेको मोदी सरकारको दोस्रो कार्यकालको पहिलो बजेटमा नेपाललाई दिइँदै आएको अनुदानमा वृद्धि गरिएको छ।
भारतले नेपाललाई दिने अनुदानमा यो वर्ष ४० प्रतिशतले वृद्धि गरेको हो। नेपालका लागि भारतले यो वर्ष १६ अर्ब ८० करोड रुपैयाँ अनुदान स्वरुप दिने भएको छ। सन् २०१८/१९ मा भारतले १२ अर्ब रुपैयाँ छुट्याएको थियो।
नेपालका लागि अघिल्लो वर्ष छुट्याइएको रकमभन्दा यो वर्ष छुट्याइएको रकम ४ अर्ब ८० करोड रुपैयाँ बढी हो। प्रतिशतका हिसाबले यो ४० प्रतिशत बढी हो।
दक्षिण एसियामा भारतबाट अनुदान पाउनेमा नेपाल तेस्रो स्थानमा छ। पहिलो स्थानमा भने भुटान रहेको छ। भुटानका लागि भारतले ३४ अर्ब १६ करोड रुपैयाँ छुट्याएको छ।
भारतले छिमेकी मुलुकलाई दिने अनुदान बजेटमै उल्लेख गर्ने गरेको छ।
बिम्स्टेकलाई प्राथमिकता
मोदीले दक्षिण एसियाली सहयोग संगठन (सार्क)लाई भन्दा बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरुको प्रयास (बिम्स्टेक)लाई प्राथमिकता दिएका छन्। उनले आफ्नो दोस्रो कार्यकालको सपथ ग्रहण समारोहमा सार्कलाई छोडेर बिम्स्टेक राष्ट्रलाई बोलाएका थिए।
कूटनीतिमा बिम्स्टेकलाई दिएको प्राथमिकता अनुसार नै मोदी सरकारले बजेट छुट्याएको छ।
बिम्स्टेकका लागि करिब १२ करोड ८० लाख रुपैयाँ विनियोजन गरेको छ। बिम्स्टेकका लागि अघिल्लो वर्ष ८ करोड रुपैयाँ मात्रै विनियोजन गरिएको थियो। यसरी बजेटमा गरिएको वृद्धिले मोदी सरकारले बिम्स्टेकलाई प्राथमिकता दिएको प्रष्ट हुन्छ।
तर, सार्कका लागि भने भारतले बजेट बढाएको छैन। यसपाली पनि अघिल्लो वर्षकै जति बजेट सार्कका लागि छुट्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।