राजविराज- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनमा भएको ढिलाइमा तीन ठूला दलले जबर्जस्ती लागू गरेको संविधान नै बाधक बनेको बताएका छन्।
सप्तरीको राजविराजमा आज बिहान कार्यकर्तासँगको भेटका क्रममा उनले अन्य धेरै ठाउँमा संवैधानिक जटिलता रहेकाले संविधान संशोधन गरे मात्रै मुलुकले निकास पाउन सक्ने बताए।
आफूहरुले बारम्बार संविधान त्रुटिपूर्ण रहेको बताउँदै आए पनि बलजफ्ती जारी गरेको कारण समस्या आएको समेत अध्यक्ष यादवले आरोप लगाए। संविधानमा रहेको त्रुटिपूर्ण व्यवस्थाकै कारण निर्वाचन परिणाम आइसक्दा पनि सरकार गठनमा ढिलाइ भएको समेत उनको टिप्पणी थियो।
सरकार गठनमा देखिएको संवैधानिक अड्चनपछि जबर्जस्ती संविधान जारी गर्ने तिनै दलका नेताहरुले संविधानमा त्रुटि रहेको कुरा स्वीकार गरिरहेको उनले बताए।
मुलुकमा राजनीतिक स्थिरताका लागि सबै दल मिलेर संविधान संशोधन गर्नु नै एकमात्र विकल्प यादवले जिकिर गरे। ‘प्रदेश २ का जनताले पनि संविधानमा त्रुटि रहेको कुरा निर्वाचनमार्फत व्यक्त गरिसकेकाले संशोधन अपहरिहार्य छ,’ अध्यक्ष यादवले भने।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।