दाङ- प्रहरी हवलदारले दुई सय घुस लिएको बदलामा आफूलाई पत्रकार बताउने एक व्यक्तिले ५५ हजार रुपैयाँ घुस लिएका छन्। घुस लिएको भिडियो खिचेको दाबी गर्दै पत्रकार बताउने सुनिल न्यौपानेले प्रहरी हवलदार पूर्ण आकाश दिप सिंहसँग १ लाख ५ हजार रुपैयाँ घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
घोराही उप-महानगरपालिका उखुवारी सडकखण्डमा सवारी जाँचमा खटिएका प्रहरी हवलदार सिंहले जाँच गर्ने क्रममा मोटरसाइकल चालक सुनिल न्यौपानेको साथमा कागजात नभएको भेटाएका थिए।
उनले जरिवानाबापत रसिद काट्न खोज्दा न्यौपानेले २ सय रुपैयाँ घुस दिएर त्यहाँबाट फुत्किए। घुस दिएको केही समयपछि न्यौपानेले आफू पत्रकार भएकोले घुस लिएको भिडियो बनाइसकेको हवलदार सिंहलाई बताए। आफूलाई एक लाख रुपैयाँ घुस नदिए उक्त कुरा पत्रिकामा छपाइदिने भन्दै धम्की दिन थाले।
उक्त घुस लिएको कुरालाई प्रकाशन/प्रसारण नगराइदिन हवलदार सिंहले तत्काल नगद ५ हजार र पछि ५० हजार रुपैयाँको चेकसमेत न्यौपानेलाई दिए। उनले सो चेक फिर्ता गर्नको लागि पुन: नगद ५० हजार रुपैयाँ समेत दिए।
उक्त चेक र नगद ५५ हजारसहित न्यौपाने पक्राउ परेका छन्। आफूले दुई सय रुपैयाँ घुस लिई न्यौपानेलाई १ लाख ५ हजार रुपैयाँ घुस दिएको उक्त कार्य 'भ्रष्टाचार निवारण ऐन, २०५९'को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा(३)को कसुर भएको पुष्टि भएको भन्दै उनीहरु विरुद्ध मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दामा विगो १ लाख ५ हजार २ सय कायम गरी 'भ्रष्टाचार निवारण ऐन, २०५९'को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (घ) बमोजिम जरिवाना र कैद सजायको मागदाबी गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।