काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्यलक्ष्मी शाहले छाउनीको जग्गा र घरलाई दाइजो दाबी गर्दै दायर गरेको रिटमा अब फेरि सुनुवाइ हुने भएको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलाशले शुक्रबार राणाको मुद्दामा आवश्यक मिसिलहरु उपलब्ध गराउन विपक्षीहरुको नाममा आदेश गरेपछि यसको सुनुवाइ फेरि सुरु हुने भएको हो।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीशहरु दिपककुमार कार्की, केदारप्रसाद चालिसे, मिरा खड्का र हरिकृष्ण कार्कीको इजलाशले ‘मिसिल झिकाउने' आदेश गरेको छ। यसअघि दुई पटकसम्म सर्वोच्चबाट टुङ्गिएको उक्त मुद्दामा आज पुनः सर्वोच्चले आदेश जारी गरेपछि तेस्रो पटक सुनुवाइ हुने निश्चित भएको हो।
प्रेरणाले दोस्रो पटक आफूले उक्त घरजग्गा दाइजो पाएको दाबी गर्दै सर्वाेच्चमा पुनः मुद्दा दायर गरेकी थिइन्। उक्त मुद्दालाई सर्वोच्चले शुक्रबार ८ महिनापछि पेसी राख्दै यस्तो आदेश दिएको हो। रिटलाई शुक्रबार सर्वोच्चको संवैधानिक इजलाशले अर्को सुनुवाइका लागि बाटो खोलिदिएको छ।
राणा प्रधानन्यायाधीश हुने निश्चित भएको समयमा दुईपटक सर्वोच्चबाट फैसला भएर ‘फैसला कार्यान्वयन’मा गएको अवस्थामा प्रेरणाको रिट सर्वोच्चमा दर्ता भएको थियो।
छाउनीस्थित १५ रोपनी जग्गा र घर दाइजोमा आएको भन्दै पहिलो पटक प्रेरणा २०७१ माघ २५ सर्वोच्च पुगेकी थिइन्। उक्त मुद्दामा पूर्वप्रधानन्यायाधीश रामकुमार प्रसाद शाह र राणाको संयुक्त इजलाशले फैसला गर्दै प्रेरणाको दाइजो भएको ठहर गरेका थिए।
उक्त रिटपछि नेपाल ट्रष्टको कार्यालय सर्वोच्च पुगेको थियो। उक्त मुद्दामा सर्वोच्चले यसअघिको फैसला उल्ट्याएको थियो।
२०७५ पुस ६ गते प्रेरणाले दाइजोको रुपमा पाएको जग्गा सरकारले आफ्नो दाबी गर्दै नेपाल ट्रष्टअन्तर्गत ल्याउन लागेको दाबी गर्दै रिट दायर गरेकी थिइन्।
आफूले दाइजोमा पाएको दाबी गर्दै पूर्वराजा वीरेन्द्रको नाउँमा रहेको १५ रोपनी जग्गा नेपाल ट्रष्टलाई दिने तत्कालीन सर्वाेच्चकै फैसलामा असन्तुष्टि जनाउँदै फैसला पुनरावलोकनका लागि उनी सर्वोच्च अदालत पुगेकी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।