नेपालगन्ज– लागुऔषधको अवैध ओसारपसार तथा प्रयोगकर्ताको संख्या बढ्दै गएपछि बाँकेको नेपालगन्जस्थित कारागार लागुऔषधका बन्दीहरुले भरिन थालेको छ।
पछिल्ला दिनमा नेपालगन्ज अवैध लागुऔषधको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ। भारतीय सीमावर्ती क्षेत्रबाट नेपालगन्जमा ब्राउन सुगर भित्रिने र नेपालका पहाडी जिल्लाबाट चरेस भारत जाने गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङले बताए।
बाँके प्रहरीले लागुऔषध नियन्त्रणका लागि विभिन्न प्रयास गरेपछि यसको अवैध ओसारपसार र सेवनकर्ताहरुको संख्या भने बढ्दै गएको छ। प्रहरीको एक्लो प्रयासले मात्रै लागुऔषधको समस्या समाधान सम्भव नभएकाले सरकारले विशेष कार्यक्रम सञ्चालन गर्न विज्ञकरुले सुझावसमेत दिएका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्ष र नेपालगन्ज कारागार लागुऔषधका बन्दी कैदीले भरिन थालेका छन्। हिरासत कक्षमा रहेका बन्दीमध्ये करिब ५० प्रतिशत लागुऔषध मुद्दाका छन्।
त्यसैगरी करिब २ सय कैदीबन्दीको क्षमता भएको निक्कै पुरानो र जीर्ण अवस्थामा रहेको नेपालगन्ज कारगारमा २ सय १ जना कैदीबन्दी छन्।
कैदीबन्दीको बढ्दो चापलाई धान्नै नसक्ने अवस्था छ। कोठा थपेर हलमा लहरै राख्दासमेत नअटेपछि त्रिपालको टेन्टमा समेत राखिएको थियो। कैदीको व्यवस्थापन गर्न धेरै गाह्रो भएपछि कारागार प्रशासनले एक सय कैदीलाई अन्य जिल्लामा पठाएको थियो।
कारगारबाट सजाय भुक्तान गरेर छुट्ने कैदीभन्दा सजाय पाएर आउने कैदीबन्दी धेरै भएपछि कैदी बन्दीलाई बस्ने व्यवस्था मिलाउन गाह्रो भएको कारगार प्रशासनले जनाएको छ।
नेपालगन्ज कारगारमा छिमेकी मुलुक भारतका ५५ जना र २ जना बंगलादेशका गरी हाल ६ सय ३८ जना कैदीबन्दी रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।