काठमाडौं- सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार सरकारी वकिलबाट ल्याउन लागेको भन्दै अदालतमा कार्यरत रहेका कर्मचारीहरुको ट्रेड युनियनलले आन्दोलनको चेतावनी दिएको छ।
सर्वोच्चका मुख्य रजिष्ट्रार नहकुल सुवेदी उच्च अदालतको मुख्य न्यायाधीश सिफारिस भएपछि रिक्त स्थानमा न्याय सेवा आयोगले सरकारी वकिल तर्फका उच्च अधिकृतलाई नियुक्त गर्न लागेको भन्दै उनीहरुले आन्दोलनको चेतावनी दिएका हुन्।
निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियन विभागीय कार्यसमिति सर्वोच्च अदालतले विज्ञप्ति जारी गर्दै आन्दोलनको चेतावनी दिएको हो। युनियनका सचिव हरि भट्टराईले जारी गरेको विज्ञप्तिमा अदालतमा लामो समय काम गरेका जनशक्तिको मनोबल गिर्नुको साथै वृत्ति विकासमा समेत प्रत्यक्ष असर पुग्न जाने भएकोले यस्तो कार्य नगर्न न्याय सेवा आयोगका पदाधिकारी एवं सर्वोच्च अदालत व्यवस्थापनलाई आग्रह गरिएको छ।
आफ्नो मागलाई हल्का रुपमा लिए अदालत ठप्प पार्नेसम्मको कार्यक्रम गर्न बाध्य हुने भट्टराईले बताए।
‘हाम्रो मागलाई बेवास्ता गरी यसअघि भए गरेका त्रुटि नसच्याई कानुन संस्थागत भइसकेको परम्परालाई लत्याई कुनै कार्य भएमा हामी ट्रेड युनियनकर्मीहरु कडाभन्दा कडा आन्दोलन गर्न बाध्य हुनेछौं,’ विज्ञप्तिमा भनिएको छ। त्यसबाट उत्पन्न हुन सक्ने परिणामको जिम्मेवारी अदालत नेतृत्व र न्याय सेवा आयोगका पदाधिकारी स्वयं हुनुपर्नेसमेत चेतावनी दिइएको छ।
विज्ञप्ति-

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।