काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले डिग्रीको सर्टिफिकेटले मात्रै देश नबन्ने भन्दै डा बाबुराम भट्टराईको कटाक्ष गरेका छन्।
धुम्बाराहीस्थित पार्टी कार्यालयमा शुक्रबार पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दं अध्यक्ष ओलीले भने, 'पिएचडी, पिएचडी भनेर प्रचार गरिन्छ। देशमा पिएचडी गरेका धेरै छन्। माननीयज्यु एक जनाले मात्रै पिएचडी गरेजस्तो डाक्टर, डाक्टर, डाक्टर...। डिग्रीले क्रान्ति गर्दैन। दृष्टिकोण र निष्ठाले क्रान्ति गर्छ।'
उनले पिएचडी उपाधिलाई फुँडी फुटेर मरेको भ्यागुतासँग दाँजे। भुँडी फुटेर मरेको भ्यागुताको कथा पनि सुनाए।
'कुनै समय एउटा पोखरीमा भ्यागुती थिई। भ्यागुताकी बच्ची घुम्न निस्किछ। माछो देखिछ। आमालाई दौडँदै सुनाउन पुगिछ, 'आमा आमा कत्रो ठूलो जनावर देखेँ।'
आमाले आश्चर्य हुँदै भनिछे– कत्रो थियो? कसरी हुन सक्छ मभन्दा ठूलो?'
भ्यागुतीले फुँडी फुलाउँदै यत्रो... यत्रो.. भन्दै देखाउन थालिछ। जति भुँडी फुलाउँदा पनि बच्चीले झन् ठूलो भन्दै गइछ। अन्तिममा भुँडी फुटेर मरी। अहिले भएको त्यही हो।'
डिग्रीको सर्टिफिकेट आर्जन गरेपछि सम्हालिनुपर्ने र दम्भ निर्माण गर्नु नहुनेतर्फ पनि उनले सचेत गराए।
बाबुराम भट्टराईसहित, उपेन्द्र यादवलाई पनि नेकपामा समाहित हुन ओलीले आग्रह गरे।
सरकारको विरोध गर्न मास्क लगाएर हिँडे
आफूले केही दिनअघि बोलेको विषयलाई सरकारको विरोध गर्ने अस्त्रका रूपमा प्रयोग गरेको पनि ओलीले टिप्पणी गरे।
'मास्क लगाउनुपर्छ भनेर केहीले सम्झेर मास्क लगाउन थालेका छन्, सरकारको विरोधका लागि। मेरो शुभकामना छ, मास्क लगाउने बानी गर्दा राम्रै हुन्छ। मेरो रिसले भए पनि मास्क लगाइदिनुस्,' उनले भने।
केही दिनअघि ओलीले मदन भण्डारीको जन्मजयन्तीको अवसरमा 'अहिले काठमाडौंमा मास्क लगाएर कोही पनि हिँड्दैन’ भन्ने अभिव्यक्ति दिएपछि सर्वत्र आलोचना भएको थियो।
'काठमाडौंका सबै बाटा कालोपत्रे हुन्छन्। धुलो उड्दैनन्,' उनको भनाइ थियो।
चुनाव हार्नेले आलोचना गर्न पनि नपाउने त भएन
प्रतिपक्षी नेपाली कांग्रेसले बढी नै आलोचना गरेका ओलीले भने, 'चुनाव पनि हार्ने आलोचना पनि गर्न नपाउने त हुन्न।'
प्रधानमन्त्री ओलीले दुई वर्षभित्र निरक्षरताको अन्त्य गरिसक्ने बताए। युनेस्कोको भनाइ अनुसार अल्पविकसित देशमा कक्षा छाड्ने विद्यार्थीको घट्दो संख्यामा नेपाल अग्र स्थानमा रहेको र विद्यालय बाहिर रहेका विद्यार्थीहरूको संख्यामा उल्लेख्य कमी आएको उनको भनाइ थियो।
आइफा अवार्ड रोकेको प्रति संसदीय समितिको आलोचना
आइफा अवार्डको सन्दर्भमा भने प्रधानमन्त्री ओलीले संसदीय समितिको आलोचना गरेका छन्। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले देशको सार्वभौमिकता, राष्ट्रियता प्रतिकूल हुने ठहर गर्दै रोक्न निर्देशन दिएको प्रति आलोचना गर्दै उनले भने, 'समितिले अवार्ड रोक्न फरमान जारी गर्यो।'
'आइफा अवार्डबारे अनावश्यक हल्ला भयो। कुनै नबुझी फरमान जारी भयो,' प्रधानमन्त्रीले भने, 'न्यून लागतमा अधिक फाइदा हुनेगरी भ्रमण वर्ष–२०२० लाई टेवा पुग्नेगरी आयोजना गर्न खोजिएको थियो। ८ लाख थप पर्यटक भित्र्याउन सहयोग हुने गरी कार्यक्रम गर्न लागिएको हो।'
वार्षिक १२ लाख पर्यटक नेपाल आएको तथ्यांक प्रधानमन्त्री ओलीले सुनाए। 'देशलाई नाफा हुने गरी आइफा अवार्ड हुन्छ। घाटा हुनेगरी गर्दैनौं,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।