कपिलवस्तु- कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाले शौचालय बनाउनेलाई रु एक हजार ५ सय दिने भएको छ।
महाराजगञ्ज नगरपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्नका लागि नगरपालिकाले रकम नै दिने भएको हो। रकम पाउने लोभले पनि शौचालय निर्माण हुने विश्वासका साथ यस्तो निर्णय गरिएको नगरपालिकाका नायब सुब्बा श्रीराम पाण्डेले जानकारी दिए।
महाराजगञ्जमा अहिलेसम्म ८० प्रतिशतले आफ्नो घरमा शौचालय बनाइसकेका छन्। स्थानीयले आफ्नो घरमा शौचालय बनाएपछि नगरपालिकाबाट एकमुष्ट रु एक हजार ५ सय पाउने भएका छन्।
पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले सरसफाइको काम गर्दै आएको र महाराजगञ्ज नगरपालिका क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र बनाउने पहलका साथ जुटेको छ। शौचालय नबनाउने परिवारलाई नगरपालिकाले जन्म दर्ता, विवाह दर्ता, बसाइँसराइ, मृत्यु दर्ता, सामाजिक सुरक्षा भत्ता र वडा तथा नगरपालिकाबाट प्रदान हुने सबै सिफारिस रोक्का गर्ने भएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।