काठमाडौं– वियोगको पीडाले कसलाई पो छुन्न होला र? शासन र शक्तिमा रहेकाहरूलाई पनि यस्तो बेला विरही भावले लपेट्छ भन्ने तथ्य दुबईका शासक शेख मोहम्मद अल मकतुमको हकमा स्पष्ट भएको छ।
पत्नी राजकुमारी हाया बिन्त अल हुसेनले आफूलाई छोडेर विदेश पुगेपछि उनले यतिबेला सामाजिक सञ्जालमा कविता लेखेर आफ्नो मनोदशा प्रकट गरिरहेका छन्।
उनकी श्रीमती राजकुमारी हाया अहिले बेलायतको लण्डन पुगेकी छन्। राजकुमारी हाया सेन्ट्रल लण्डनको कुनै भवनमा बसिरहेको बताइएको छ।
संयुक्त अबर इमिरेट्सको शाही परिवारमा देखिएको यो विरक्तलाग्दो परिघटनाबारे धेरैको चासो जाग्न थालेको छ। मान्छेहरूसँग अझै पनि प्रश्न छ, ‘शाही परिवारमा खासमा भएको के हो?’
यसबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उनीहरूबीच सम्बन्धमा तितोपना बढ्दै गएपछि राजुमारी हाया बलजफ्ती भागेको बताइरहेका छन्। गत वर्ष पनि शेख मोहम्मदकी एक छोरी शेखा लतिफाले देश छोडेर भाग्न कोसिस गरेको समाचार सतहमा आएको थियो।
त्यसपछि विस्तारै हाया र शेख मोहम्मदबीच फाटो उत्पन्न भएका खबरहरू पनि बाहिर आउन थालेका हुन्। बिबिसीले लेखेको छ, ‘त्यसबेला संसारभरमा एउटा भिडियो फैलियो जसमा ३३ वर्षीय राजकुमारी शेखा लतिफाले आफ्नो परिवारमा कसैलाई आफ्नो स्वतन्त्रताको अधिकार छैन भनेकी थिइन्।’
राजकुमारी शेखा लतिफाको सन्दर्भमा पनि एउटा विद्रुप पाटो सतहमा आएको थियो। उनी एकजना फ्रेन्च व्यक्तिको सहयोगमा समुद्री मार्गबाट भाग्न सफल पनि भइन्। तर, उनलाई पछि भारतको समुद्री किनारमा रहेका सेनाले पक्रेका थिए। भनिएको थियो, 'उनी पक्राउ परेपछि उनलाई दुबई नै लगियो।'
घटनाहरूबारे चर्चा–परिचर्चा सुरु भएपछि दुबईको शाही परिवारमा महिलाको आत्मसम्मानबारे बहस समेत सुरु हुन थालेको छ। यतिसम्म कि घर छोडेर भागेकी राजकुमारी हाया नजिकका सूत्रहरूले ‘उनी दुबईमा नै रहेको खण्डमा उनको जीवन नारकीय हुन सक्ने या हिंसाको शिकार हुन सक्ने’ सम्मको सूचना मिडियाहरूबाट चुहाएको बताइन्छ।
बिबिसीका अनुसार पारिवारिक दबाबमा रहेका हाया ब्रिटेन भन्दा पहिले जर्मनी पुगेकी थिइन्।
जोर्डनका राजा हुसेनकी छोरीका रुपमा सन् १९७४ मा हायाको जन्म भएको थियो। घोडचडीमा हुरुक्क हुने हायाको बाल्यकाल पनि बेलायतमै बितेको थियो।
– बिबिसी लगायत अन्य मिडियाको सहयोगमा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।