काठमाडौं- ग्लोबल आइएमई बैंक र जनता बैंक आपसमा मर्ज हुने भएका छन्।
दुवै बैंकका अध्यक्षले सांग्रिला होटलमा आयोजित कार्यक्रममा मर्जर सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। आधा दर्जनभन्दा बढी संस्थालाई गाभेको ग्लोबल आइएमई बैंकले जनतासँग मर्ज गर्ने भएको हो। ग्लोबलका अध्यक्ष चन्द्र ढकाल र जनताका अध्यक्ष केशव रायमाझीले समझदारीपत्रमा हस्ताक्षर गरिसकेका छन्।
समझदारीत्रमा सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) ८५ प्रतिशत रहने भद्र सहमति गरिएको स्रोतको दाबी छ।
मर्जरसम्बन्धी औपचारिक जानकारी आजै दिइने भएको छ। स्रोतका अनुसार प्रमुख कार्यकारी अधिकृतमा जनताका पर्शुराम कुँवर क्षेत्रीले निरन्तरता पाउने छन्। वरिष्ठ डेपुटी सिइओमा ग्लोबलका महेश ढकाल रहने गरी सहमति भएको छ।
सम्पत्ति तथा दायित्व मूल्यांकनपछि सेयर आदानप्रदान अनुपात कायम गरिने भए पनि प्रारम्भिक मूल्यांकनमा जनतालाई एक सेयर बराबर ८५ रुपैयाँ हाराहारी दिने सहमति भएको स्रोतको दाबी छ।
राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले मौद्रिक नीतिअघि मर्जरका लागि पार्टनर खोजिसक्न सबै बैंक निर्देशन दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।