राजविराज– प्रदेश २ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहसहित जनप्रतिनिधि र कर्मचारी समेतले असार १५ गते तामझामका साथ धान रोपेर १६औं धान दिवस मनाए। विभिन्न गैरसरकारी संस्थाले पनि औपचारिक कार्यक्रम गरे। हिलोमा आफूखुसी रमाए।
तर, सिँचाइको भरपर्दो व्यवस्था र पर्याप्त वर्षा नहुँदा सप्तरी लगायत तराई/मधेसका किसानले भने असार सकिनै लाग्दा पनि रोपाइँ गर्न पाएका छैनन्। सप्तरीमा हालसम्म अधिकांश खेतीयोग्य जग्गा बाँझो छ।
सिञ्चित ४० हजार र असिञ्चित ३० हजार गरी कुल ७० हजार हेक्टर खेतियोग्य जमिनमध्ये हालसम्म ५ प्रतिशत मात्रै रोपाइँ भएको कृषि ज्ञान केन्द्र सप्तरीका प्रमुख भागिरथ यादवले बताए। ‘अहिलेसम्म आधा रोपाइँ भइसक्नुपर्ने थियो,’ यादवले भने, ‘तर, सरदर ५ प्रतिशतभन्दा बढी रोपाइँ हुन सकेको छैन।’
चन्द्र नहरको मुहानमै छैन पानी
वर्षा अभावले खोलामा पानी घटेका कारण मुलुककै सबैभन्दा पुरानो सप्तरीको चन्द्र नहरबाट यसपालि कमान्ड एरियामध्ये आधा भागमा पनि सिँचाइ पुग्न सकेको छैन। त्रियुगा नदीबाट सञ्चालित उक्त नहरले १० हजार ४ सय हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराउँदै आएको थियो।
.JPG)
खोलामै पानीको सतह न्यून भएपछि ४ सय क्यूसेक पानी सञ्चालन हुनुपर्ने नहरबाट अहिले १ क्यूसेकभन्दा कम (२३० सेन्टिमिटर) मात्र पानी सप्लाई भइरहेको कोसी पम्प चन्द नहर सिँचाइ डिभिजन कार्यालयका इन्जिनियर सुनिल झाले बताए।
वर्षा अभावले खोलामा पानी घट्नुका साथै त्रियुगाको उद्गम स्थल उदयपुरतर्फ तीन वटा हेडबक्स (हेड बाँध) निर्माण भएकाले पानी अझै घटेर गएको उनले बताए। 'त्रियुगा खोलामा भएको सबै पानी नहरमा नचढ्ने कारण मागको अनुपातमा सिँचाइ सुविधा उपलब्ध हुन सकेको छैन,' उनले भने।
उपलब्ध भएको पानी मैनाकडेरीसम्म पुगे पनि त्यसभन्दा पश्चिमका साबिक १ दर्जन गाविसमा सिँचाइ सुविधा पुग्न सकेको छैन। साबिक २९ गाविसलाई सिँचाइ सुविधा उपलब्ध हुने गरेको चन्द्र नहरबाट अहिले करिब डेढ दर्जन गाविसमा मात्र पानी पुगेको चन्द्र नहर रेखदेख गर्दै आएका इन्जिनियर झाले बताए।
पम्प नहरमा पानी खुलेन
कोसी पश्चिमी नहर (वितरण प्रणाली) मा असार पहिलो हप्ता पानी खेले पनि कोसी पम्प नहरमा पानी खुलेको छैन। कोसी पश्चिमी नहरबाट पम्पको प्रयोग गरी साबिकका कुल ३१ गाविसलाई सिँचाइ सुविधा दिँदै आएको पम्प नहरबाट असार २५ गतेदेखि मात्रै पानी सञ्चालन हुने इन्जिनियर झा बताउँछन्।
.jpg)
४ ठूला र २ साना गरी ६ वटा पम्पका माध्यमले वितरण प्रणालीको पानी पम्प नहरमा पठाउने गरिएको छ। जिल्लाको बनौलासम्म सिँचाइ क्षमता राख्ने पम्प नहर हालसम्म सञ्चालनमा आउन नसक्दा सप्तरीको अधिकांश खेतीयोग्य जमिन बाँझै रहेको किसानहरुको गुनासो छ।
पश्चिम-उत्तरमा रोपाइँ सुरु भएन
सिँचाइ सुविधा नहुँदा बोदे बरसाइन, पातो, बरही वीरपुर, फूलकाही, कोदरकट्टी, भुतही, मानराजा, खडकपुर, अर्नाहा, ब्रह्मपुर, कविलासा, मलहनियाँ, मलहनमा, हर्दिया कटैया, रामपुर जमुवा, मोहनपुर लगायत पश्चिम उत्तर क्षेत्रका तीन दर्जनभन्दा बढी स्थानका खेतीयोग्य जमिनमा धान रोपाइँ नभएको ज्ञान केन्द्रले जनाएको छ।
किसानहरु सुक्खा खेत जोतेर पानी पर्ने आशामा बसेका छन्। ‘हिलोमा भासिएर काम गर्नुपर्ने महिनामा धुलोबाट जोगिनुपर्ने अवस्था छ,’ सुरुंगा नगरपालिका-६ का खुसीलाल मण्डल भन्छन्, ‘कतै वर्षा भइहाल्छ कि भनेर बाँझो मारेर बसेका छौं, तर पानी पर्ने सम्भावना देखिएन।’
.jpg)
पम्पसेटको सहारामा रोपिएको धान पनि घामका कारण डढ्न थालेको किसानहरु बताउँछन्।
ब्याडमै सुक्दै बिउ
ज्ञान केन्द्रका प्रमुख यादवले किसानको बिउ ब्याडमै सुक्न थालेको बताए। ‘असारको सुरुदेखि नै रोपाइँ गर्ने आशामा किसानले ब्याड तयार गरेका छन्,’ उनले भने, ‘तर, असार सकिनै लाग्यो, पानीपर्ने छाँटकाँट छैन।’
.jpg)
समयमा रोप्न नपाएपछि बिउ सुक्न थालेको र छिप्पिएको उनले जानकारी दिए। ‘२० देखि ३० दिनभित्र बिउ रोप्न नपाए धानको उत्पादन राम्रो हुँदैन,’ उनले थपे, ‘वर्षा भए साउनमा पनि रोपाइँ त होला, तर सन्तोषजनक उत्पादन हुँदैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।