काठमाडौं– ५ वटा दलले प्रदेशसभातर्फ समानुपातिकको सूचि सच्याएर बिहिबार निर्वाचन आयोगमा बुझाएका छन्। राष्ट्रिय जनता पार्टी, नेपालले भने पुरानै सूचि बुझाएको छ।
समाबेशीको सिद्धान्तअनुुसार प्रदेशसभामा समानुपातिक सदस्यको नाम नमिलेको भन्दै आयोगले गत मंगलबार नेपाली कांग्रेसहित ६ दललाई सूचि सच्याएर बुझाउन निर्देशन दिएको थियो। सबै दलले बिहिबारसम्म नयाँ सूचि बुझाएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए।
नेपाली कांग्रेसले बुधबार नै बुझाएको थियो। अन्य दलहरु संघीय समाजवादी फोरम नेपाल, राजपा नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले बिहिबार सूचि बुझाएका छन्। ती सूचिउपर शुक्रबार आयोगले निर्णय गर्नेछ।
राजपाले पुरानै सूचि बुझायो
राष्ट्रिय जनता पार्टी, नेपालले भने पुरानौ सूचि बुझाएको छ। राजपालाई आयोगले समाबेशीको क्लष्टर नमिलेको तथा क्रमसंख्या पनि तलमाथि भएको भन्दै सच्याउन निर्देशन दिएको थियो। तर, आयोगको निर्देशनअनुसार सच्याउन सम्भवन नभएकाले पुरानै सूचि बुझाइएको राजपाका नेता केशब झाले बताए।
राजपाले सुरुमा बुझाएको २ नम्बर प्रदेशको ४२ जनाको सूचिमै त्रुटि भएकाले अहिले विजयी सांसद छान्न समस्या भएको हो । समाबेशीको क्लष्टरअनुसार राजपाले बुझाएको सूचिमा दलित महिला, आदिवासी महिला र थारु महिलाको नाम नै नभएपछि समस्या भएको हो। ‘आयोगले दिएको निर्देशनअनुसार ४२ जनाको सूचिमा मापदण्ड पुग्ने व्यक्ति भेटिएनन्,’ नेता झा भन्छन्,‘त्यही भएर हामीले पुरानै १० नाम बुझायौं, आयोगले यस विषयमा शुक्रबार निर्णय गर्ने जनाएको छ।’ सुरुमा सूचि बुझ्दा आयोगकै गल्तीका कारण अहिले समस्या भएको राजपाका नेताहरु बताउँछन्। आयोगका नेताहरु भने राजपाले आयोगलाई झुक्याउने काम गरेको दाबी गर्छन्। सुरुकै सूचिमै ख्याल नगर्दा राजपाको प्रदेशसभाको समानुपातिक सदस्यको निर्णय गर्न आयोगले समस्या हुने देखिएको छ। प्रदेश नम्बर २ मा राजपा नेपालले समानुपातिकतर्फ १० सिट हात पारेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।