बागलुङ– बागलुङ महोत्सवमा जारी फोटो प्रदर्शनीमा अवलोकनकर्ताको आकर्षण देखिएको छ।
महोत्सव स्थल धवलागिरि बहुमखी क्याम्पसमा चलिरहेको प्रदर्शनीमा लुम्बिनीदेखि कर्णालीसम्मको विविधता झल्कने करिब एक सय फोटोहरु राखिएको प्रदर्शनीका संयोजक अर्जुन चोखालले बताए।
धवलागिरि क्षेत्रका फोटो पत्रकारहरुले खिचेका पोखरा, लुम्बिनी, मुस्ताङ, पर्वत, गुल्मी, म्याग्दी, रुकुमदेखि कर्णालीका मुगु र डोल्पासम्मका फोटोहरु प्रदर्शनीमा राखिएका छन्। २० रुपैयाँको टिकट काटेर प्रदर्शनीमा पस्ने अवलोकनकर्ताहरु एकै ठाउँमा कृषि, पर्यटन, पशुपालन, घरेलु उत्पादन, जीवनशैली, समाज र मनोरम प्राकृतिक स्थलको झलक हेरेर रमाउने गरेका छन्।
प्रदर्शनीले धवलागिरि र आसपासको क्षेत्रको पहिचान झल्काएको फोटो पत्रकार आरके अदीप्त गिरीले बताए। प्रदर्शनीमा अधिकांश फोटो गिरीले खिचेका राखिएका छन्।
यस्ता प्रदर्शनीले फोटो पत्रकारलाई उत्प्रेरित गर्ने भन्दै उनले थपे, ‘समाज र जीवनशैली बुझ्न फोटो प्रर्दशनीले सघाउँछ, नयाँ पुस्तालाई पनि यसमा आकर्षित गर्नु जरुरी छ।’
गिरीसँगै फोटो पत्रकार मञ्जुल शाक्य, किरण आचार्य, राम थापा ‘अविरल’, प्रकाश बराल, नरेश कँडेल लगायतका फोटोहरु प्रदर्शनीमा समेटिएको छ। मन परेको फोटो किन्न समेत पाइने व्यवस्था गरिएको छ।
प्रदर्शनीका संयोजक चोखालले फोटो संस्कृतिलाई जीवन्तता दिन प्रदर्शनी आयोजना गरिएको बताए। फोटो प्रदर्शनीले पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने आयोजकको अपेक्षा छ।
प्रदर्शनी पुस २३ गतेसम्म चल्ने महोत्सव अवधिभर जारी रहनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।