डडेल्धुरा- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाल महिला संघ संयोजक विवाद छताछुल्ल भएको छ। नेपाल महिला संघ केन्द्रीय तदर्थ समितिका अध्यक्ष उमा रेग्मीद्धारा हस्ताक्षरित विज्ञप्तिमा कलापति बोहरालाई संयोजक तोकिएको पत्र सार्वजनिक भएपछि विवाद बाहिरिएको हो।
यस्तै नेपाल महिला संघ डडेल्धुराको संयोजक तोकिएको भनी लेटरप्याडको दुरुपयोग गरी सामाजिक संजालमा भ्रम फैलाएको भन्दै नेपाली कांग्रेस डडेल्धुराले आपत्ति जनाएको छ।
बिहीबार नेपाली कांग्रेस डडेल्धुराले प्रेस विज्ञप्ति जारी गर्दै भातृ संगठन नेपाल महिला संघ डडेल्धुराको संगठनको विषयमा सामाजिक संजालका अर्नगल खबरप्रति गम्भीर ध्यानआकर्षण भएको जनाएको छ।
‘कांग्रेस केन्द्रीय कार्य समितिले गाउँ र वडा तहसम्म नै जागरणका कार्यक्रम संचालन गरी सम्पूर्ण भातृसंगठन चुस्तदुरुस्त पार्न र सबै कार्यकर्ताबीचमा नवीन ढंगको एकता कायम गरी वर्तमान अधिनायकवादी सरकारका विरुद्ध एकजुट भएर लड्न निर्देशन भएका बेला, नेपाली कांग्रेसको महत्वपूर्ण भागिनी संगठन नेपाल महिला संघ डडेल्धुरालाई खेलौना बनाउने प्रयास गरिएको छ,’ कांग्रेस डडेल्धुराका सभापति कर्णबहादुर मल्लद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा उल्लेख छ।
नेपाल महिला संघ डडेल्धुराको विषयमा नेपाली कांग्रेस जिल्ला कार्य समितिमा कुनै आधिकारीक जानकारी नआएकाले उक्त विषयलाई लिएर कुनैपनि अतिरन्जनापूर्ण र झुटो समाचारको पछि लागेर गैरजिम्मेवार अभिव्यक्ति नदिन पार्टीका जिल्ला स्तरीय तथा स्थानीय तहका नेता, कार्यकर्ता साथीभाइहरुलाई अनुरोध गर्दै पार्टीको अनुशासन र विधि विधानको पूर्ण पालना गरेर आफ्ना राजनीतिक गतिविधीलाई निरन्तरता दिन समेत कांग्रेसले विज्ञप्तिमार्फत अनुरोध गरेको छ।
पार्टीको अनुशासन उलंघन गरी जथाभावी प्रतिक्रिया दिने र चरम गुटबन्दी तर्फ पार्टीलाई धकेल्ने जो कोहीलाई पनि अनुशासनको दायरामा बस्न सचेत समेत कांग्रेस डडेल्धुराले गराएको छ।
केही दिन अघि नेपाल महिला संघ डडेल्धुराको संयोजकमा परशुराम नगरपालिकाकी उपप्रमुख कलावती बोहरालाई तोकिएको भनि फरकफरक ‘लेटरप्याड’ तस्वीरसहित बधाइ दिइएको थियो। उनलाई बधाई दिनेमा जनप्रतिनिधिदेखि पत्रकारसम्म छन् ।
कांग्रेस डडेल्धुरा सभापति पक्षकी विष्ट संयोजक रहेको समयमा पूर्व सभापती रघुवर भट्ट पक्षका परशुराम नगरपालिकाकी उपप्रमुख कलावती बोहराको नाम आएपछि थप गुट भेला नै हुन सुरु भएका छन्। यसबारे सभापति देउवालाई अगाडीबाट जनाकारी भएपनि केही बोलेका थिइन्।
स्रोतका अनुसार देउवा पत्नी आरजु राणाले कलावती बोहरा नै संयोजक हुनु पर्ने पहिले देखीको अडान थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।