काठमाडौं- न्याय परिषद्ले गरेको उच्च अदालतका ४ मुख्य न्यायाधीश सिफारिस विवादित भएको छ। प्रधानन्यायाधीश तथा न्याय परिषद्का अध्यक्ष गोपाल पराजुलीले आफ्ना नातेदार सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नहकुल सुवेदीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीश बनाउने रणनीतिका साथ पहिलो नम्बरमा सिफारिस गरेपछि विवाद सिर्जना भएको हो।
पराजुलीको उक्त प्रस्तावमा असहमति जनाउँदै परिषद् बैठकमा परिषद्का सदस्य एवं वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीले ‘नोटअफ डिसेन्ट’ लेखेका छन्।
संविधानमा समावेशी सिद्धान्त अनुसार संवैधानिक अंगमा नियुक्ति गर्नुपर्ने व्यवस्था भए पनि त्यसको उल्लंघन प्रधानन्यायाधीशबाटै भएपछि आफूले असहमति जनाएको जोशीले बताए।
बिहीबार बसेको परिषद्को बैठकले तुलसीपुर उच्च अदालतमा नहकुल सुवेदी, जनकपुरमा उदय चापागाईं, दिपायलमा यज्ञ बस्याल र सुर्खेतमा हरिकुमार पोखरेललाई मुख्य न्यायाधीशमा सिफारिस गरेको थियो।
४ मध्ये सुवेदीलाई रोलक्रममा अघि हुनेगरी सिफारिस गरिएकोमा जोशीले आपत्ति जनाउँदै नोट अफ डिसेन्ट लेखेका हुन्।
‘उच्च अदालतको मुख्य न्यायाधीश सर्वोच्च अदालतको भावि प्रधानन्यायाधीश हो,’ जोशीले नेपाल लाइभसँग भने, ‘रोलक्रम र मर्यादलाई मिचेर आफ्नो मान्छे सर्वोच्च ल्याउने कुरामा मेरो असहमति हो।’
पूर्व प्रधानन्यायाधीश शुशीला कार्कीले मध्यरातमा परिषद्मा सबै सदस्यको सहमति बिना नियुक्ति गरेका उच्च अदालतका ८० न्यायाधीशको विवादको अन्तिम सुनुवाइ चलिरहेकै दिन प्रधानन्यायाधीश पराजुलीले आफू निकट व्यक्तिलाई प्रधानन्यायाधीश बन्ने बाटो खुलाउँदै परिषद्बाट सिफारिस गराएका हुन्।
योग्यता पुगेको व्यक्तिलाई र संविधानले तोकेको योग्यता भएकालाई रोलक्रम अनुसार न्यायाधीश बनाउनुपर्ने आफ्नो तर्क रहेको वरिष्ठतम् न्यायाशीध जोशीले बताए।
‘मैले सुवेदीजीलाई १ नम्बरमा नराखौं भनेको हुँ, रोलक्रम मिचेकोमा मेरो नोटअफ डिसेन्ट छ,’ उनले भने, ‘४ जना न्यायाधीश नियुक्ति गर्दा रोलक्रममै भएकी महिला न्यायाधीश छुटाउनु हुँदैन भन्नेमा मेरो जोड थियो।’
सुवेदी सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार थिए भने, चापागाईं, बस्याल र पोखरेल उच्च अदालतका लागि क्रमशः पहिलो, दोस्रो र तेस्रो रोलक्रमका न्यायाधीश थिए। चौथो क्रममा न्यायाधीश सुष्मालता माथेमा थिइन्।
परिषद् स्रोतका अनुसार, सुवेदीलाई पहिलो नम्बरको न्यायाधीश बनाउन प्रधानन्यायाधीश पराजुलीको जोड थियो। पूर्व प्रधानन्यायाधीश शुशीला कार्कीबाट सर्वोच्च अदालतबाट न्याय परिषद्को सचिवमा सरुवा गरिएका सुवेदीलाई पराजुलीले आफू प्रधानन्यायाधीश भएलगत्तै मुख्य रजिस्ट्रार बनाउँदै सर्वोच्च भित्र्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।