काठमाडौं- प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक गर्न ढिलाइ भइरहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचन आयोगका पदाधिकारीसँग भेट गरेकी छन्।
प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपरिणाम सार्वजनिक गर्न आयोगले संवैधानिक र कानुनी जटिलता देखिएको बताइरहेको बेला राष्ट्रपति भण्डारीले बिहीबार आयोग पदाधिकारीलाई शीतल निवासमा बोलाएर छलफल गरेकी हुन्। भेटमा राष्ट्रपतिले वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि सबै राजनीतिक दलसँग छलफल गरेर पहल गर्न आयोगलाई आग्रह गरिन्।
नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने विषयमा सबै दलको सहमति जुटाउन पहल गर्न राष्ट्रपतिले आयोगका पदाधिकारीलाई सुझाव दिएको राष्ट्रपतिका स्वकिय सचिव भेषराज अधिकारीले बताए।
भेटका क्रममा प्रमुख आयुक्त अयोधीप्रसाद यादवले प्रदेशसभाको निर्वाचनको मतपरिणाम सार्वजनिक गर्ने काम अन्तिम चरणमा पुगेको भन्दै प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट संख्या सार्वजनिक गर्न संवैधानिक र कानुनी जटिलता उत्पन्न भएको बताएका थिए।
‘निर्वाचनको मतपरिणाम सार्वजनिक गर्न कुनै दलले दबाब दिने, कुनै दलले सार्वजनिक नगर्न भन्ने गरेका छन्’, यादवले भने, ‘दलहरुको पछिल्ला गतिविधिले आयोग दबाबमा परेको छ।’
राष्ट्रियसभाको निर्वाचनको मिति घोषणा हुन बाँकी रहे पनि आयोगले निर्वाचनको तयारी अगाडि बढाएको प्रमुख आयुक्त यादवको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।