फाइल तस्बिर
काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको समूह संगठित आतंकवादी समूह भएको बताएका छन्।
सञ्चार मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले विप्लव समूह आतंकवादी समूह नै भएको ठोकुवा गरेका हुन्। विप्लवका क्रियाकलाप जनतामा त्रास फैलाउने र लुटतन्त्र मच्चाउने भएकाले संगठित अपराध भएको टिप्पणी गर्दै उनले यस्तो बताएका हुन्।
'कुरा क्रान्तिकारी, परिणाम दक्षिणपन्थीलाई टेवा पुर्याउने हो उहाँहरुको। दक्षिणपन्थीहरुको सेवा गरिरहेको छ विप्लव भन्ने आतंककारी समूहले। यो आतंकारी नै हो। अपराधिक नै हो संगठित रुपमा,' उनले भने।
उनले सरकारले वार्ता आह्वान गर्दागर्दै अस्वीकार गरी हिंसा रोजेर विप्लव समूह उपयोगितावादी भएको दाबी गरे।
'उहाँहरु जम्माजम्मी उपयोगितावादी हो। अराजकतावादी हो। लुटेरा समुह हो। क्रमश संगठित आतंकवाद हो। सामाजिक भासिवाद पनि हो। त्यो कुनै पनि प्रकारले कुनै दर्शन विचार सिद्धान्तको निकट छैन। चुनाव लड्ने हुती छैन। कुनै कोठामा बसेर फोनमा १२ वटा सिम फेरिर मान्छेलाई दिनहुँ त्रर्साएर के हुन्छ? त्यसकारण सरकार तर्सँदैन,' उनको भनाइ थियो।
सरकार अझै पनि वार्ताबाट समस्या समाधान गर्न तयार रहेको भन्दै उनले विप्लव समूहले नै वार्तालाई अस्वीकार गरी भागेको टिप्पणी गरे।
'हामीले वार्ता पनि गर्यौ। वार्तालाई उहाँहरुले रुचाउनुभएन। अनुचित कार्य गर्दे हिड्नुभयो। गैह्र संवैधानिक कार्य गर्दै हिड्नुभयो। त्यसो भएपछि नियन्त्रणमा लिने सरकारको काम हो। त्यसैले बल प्रयोग गरेको छैन सरकारले। उहाँहरुलाई फेरी पनि अनुरोध छ,' उनले भने, 'हिंसाको उन्माद र रक्तपिपाशु मानसिकता नेपाली समाजले अस्वीकार गरेको छ है। थाहा पाउनु पर्यो। यो लुटपाटको धन्दा, आतंकको धन्दा जारी राखेमा। क्षति व्यहोर्ने उहाँहरुले नै हो। हाम्रो अनुरोध छ। क्षतितर्फ नजाऔं समय छ। आउनुहोस् छलफल गरौ।'
जनताको अधिकार प्राप्तीका लागि आवश्यक परिर्वतन भईसकेको भन्दै मन्त्री बाँस्कोटाले व्यक्ति विशेषको चाहाना र मनोकामनालाई जनताले स्वीकार नगर्ने चेतावनी दिए।
'व्यक्ति व्यक्तिका अधिकार के के चाहिएको हो? त्यो मनोगत आकाक्षाले हुँदैन। जनता सहमत हुनुपर्छ। जनताले हिंसालाई अस्वीकार गरेको हो,' उनले भने, 'क्रान्तिको नाममा स्कुल बन्द? वितण्डा। वितण्डा हो नि यो बाँकी के हो? कुहिरी मण्डलमा हिँडेर आफैं अरुलाई भ्रम पर्या छ भनठान्नु हुदैन।'
उनले संगठित आतंककवाद तर्फ उन्मुख विप्लव समूहका क्रियाकलावलाई सरकारले छुट नदिने स्पष्ट पारे।
'वार्तामा नआउने। दाउपेच गर्दे आफुहरु माथि निगरानी छोड् भनिरहने। आफ्नो धन्दा गरिरहने हिंसाको निम्ति वातावरण तयार गरिरहने। धम्काउने, कमिसन माग्ने। ठेक्का पट्टा आदीलाई त्राहीमाम बनाउने। यो जंगली राज त चल्दैन। यो जंगली राजलाई छुट दिन सकिन्न,' उनको भनाइ थियो, 'उहाँहरुले र्निदोष मान्छे मार्या क्रान्तिका लागि। कोही झुक्किएर पर्न भयो नियन्त्रणमा लिन खोज्दा खोज्दै भने त्यो चाही दमन? त्यो हुँदैन। संग्लेको वातावरण धमिल्याएर कसको सेवामा लाग्दै हुनुहुन्छ? के प्राप्ती भन्नु पर्यो नि। के लडाउन दौड्या?'
पत्रकार सम्मेलनको पूरा भिडियो हेर्नुहोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।