काठमाडौं– दुई तिहाइको सरकार सिमलको भुवा नभएको हेक्का राख्न सरकारकै प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले आग्रह गरेका छन्। विप्लव समूहको गतिविधिको चर्को आलोचना गरेका बाँस्कोटाले सरकारलाई आफूले के गर्नुपर्छ भन्ने थाहा भएको समेत बताए।
'यो सरकार यत्तिकै आएको होइन। हामीले सिर्जना गरेको हो। त्यसको वातावरण हामीले बनाएको हो। सरकारले देश र जनताको लागि के गर्नुपर्छ भन्ने थाहा छ। काम पनि गरिरहेकै छ', उनले भने, 'विप्लव समूहले के गरिरहेका छन्, नागरिक पनि सचेत हुनुपर्छ। समाजका सबै अंग सचेत हुनुपर्छ।'
मन्त्रिपरिषद्को निर्णय सुनाउन आयोजित पत्रकार सम्मेलनमा विप्लव समूहसँग सरकारले वार्ता गर्न खोजेको तर उसले वार्ता नरुचाएको बताए।
विप्लव समूहले लुटपाट र आतंकको धन्दा जारी राखेमा क्षति व्यहोर्ने स्पष्ट पारे। 'हाम्रो अनुरोध छ, क्षतितर्फ नआऔं', उनले भने।
उनले विप्लव हिँडेको बाटोबाट कहीँ नपुगिने बताए। उनले आफूहरुले गोञ्जालोको पतन देखेको पनि सुनाए। 'खोई गोञ्जालो, खोई, खोई, खोई', उनले प्रश्न गरे। उनले अतिवाद कसरी सिद्धिन्छ भन्ने कुरा आफूहरुले विगतमा देखेको बताए।
गोञ्जालो पेरुको 'असफल' कम्युनिस्ट क्रान्तिका नेतृत्व कर्ता थिए।
उनले विप्लव समूहले कुरा क्रान्तिकारी गरे पनि त्यसले दक्षिणपन्थीलाई फाइदा पुर्याउने बताए।
उनले विप्लव समूह जसरी गइरहेको छ, त्यो सर्वनाशको बाटो भएको प्रष्ट पारे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।