काठमाडौं- पूर्व प्रधानमन्त्री झलनाथ खनाले आफू प्रधानमन्त्री हुदा गरेको पहिलो निर्णय कार्यान्वयनको अवस्थाबारे चासो व्यक्त गरेका छन्।
खनालले आफू प्रधानमन्त्री हुँदा सितापाईला-धार्के सडकखण्ड निर्माण गर्ने भनी गरेको पहिलो निर्णयको कार्यप्रगतिबारे चासो देखाएका हुन्।
'आजभन्दा १० वर्ष अगाडि म प्रधानमन्त्री थिएँ। उपत्यकाको सवारी अस्तव्यस्तता त्यो बेला पनि निकै थियो। त्यसलाई व्यवस्थापन गर्न म प्रधानमन्त्री हुँदा पहिलो निर्णय नै त्यसको व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर गरेको थिएँ,' उनले भने, 'सितापाईला धार्के सडकको काम कसरी अगाडि बढिरहेको छ।'
खनालले बिहीबार संघीय संसदअन्तर्गतको विकास तथा प्रविधि समितिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई यस्तो प्रश्न गरेका हुन्।
‘उपत्यकाबाट सवारी बाहिरिने कलंकी–थानकोट–नागढुंगा सडकमा बढी सवारी चाप देखिएपछि हामीले निकै छोटो समयभित्रै सुरुङ मार्ग बनाएर सितापाईला–धार्के सडक सुचारु गर्ने भनेर प्रधानमन्त्रीका रुपमा पहिलो हस्ताक्षर नै त्यहि गरेको थिए। तर त्यो आयोजना कहाँ र कस्तो अवस्थामा रहेको छ? म जान्न चाहन्छु र प्रश्न गर्न चाहन्छ। मन्त्रीज्यूले त्यसको जवाफ दिन पर्यो,’ खनालले भने।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले खनालको मन्त्रीमण्डलमा आफू पनि रहेको स्मरण गराउँदै उक्त आयोजनामा काम भइरहेको जवाफ फर्काए।
‘उक्त आयोजनालाई यो सरकारले प्राथमिकता मै राखेको छ, काठमाडौं क्षेत्रमा जग्गाको मुआब्जा वितरण पनि शुरु भईसकेको छ। प्रारम्भिक अध्ययनको काम अन्तिम चरणमा आइसकेको छ। आयोजनाका विषयमा जापानी सहयोग नियोग (जाईका) सँग छलफल भईरहेको छ। उनीहरुले ४० महिनामा आयोजना बन्छ भनेका छन् हामीले दुई वर्षभित्रै बनाईदिन आग्रह गरेका छौं,’ मन्त्री महासेठले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।