राजविराज- शीतलहर चलेर अत्यधिक चिसो बढेपछि सप्तरीका सामुदायिक विद्यालय दुई दिनका लागि बन्द गरिएको छ।
जिल्ला शिक्षा कार्यालयमा बुधबार बसेको शिक्षा समितिको बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको जिल्ला शिक्षा अधिकारी दोलराज पाण्डेले जानकारी दिएका छन्।
एक सातादेखिको निरन्तर शीतलहरका कारण चिसो बढेपछि बालबालिका बढी प्रभावित भएको र कतिपय विद्यालयमा विद्यार्थी नै आउन छोडेपछि जिल्लाभरका ४१२ वटै सामुदायिक विद्यालय बिहीबार र शुक्रबारका लागि बन्द गर्ने निर्णय भएको अधिकारी पाण्डेले जानकारी दिए।
शीतलहरका कारण सप्तरीमा दुई जनाको मृत्यु भइसकेको छ। कमजोर आर्थिक अवस्थाका कारण ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छिन्नमस्ता गाउँपालिका वडा नम्बर १ वरही निवासी ३५ वर्षीय रामदयाल राम र वीरपुर निवासी ३६ वर्षिया कुलदीप रायको चिसोका कारण कठ्यांग्रिएर मृत्यु भएको वडा अध्यक्ष विनोदकुमार यादवले जानकारी दिए।
चिसोका कारण सप्तरीको जनजीवन कष्टकर छ। चिसोले निमोनिया, पखाला, रुघाखोकी, ज्वरो लगायतका बिरामी बढेको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालले जनाएको छ। एक सातायता दुई सयभन्दा बढी बिरामी अस्पताल भर्ना भएको मेडिकल सुपरिटेन्डेन्ट डा. दयाशंकरलाल कर्णले बताए।
बिरामीको चाप वढेपछि बेड अभावका कारण भुइँमै राखेर उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।