काठमाडौं- नेपाल रेडक्रस सोसाइटीलाई रेडक्रस सोसाइटी चीनले केन्द्रीय गोदामघर निर्माण गर्न आर्थिक एवं प्राविधिक सहयोग गर्ने भएको छ।
नेपाल रेडक्रस सोसाइटीले विपद्का समयमा उपयोग गर्न भक्तपुरमा बनाउन लागेको गोदामघरका लागि १३ करोड रुपैयाँसहित अन्य सहयोग गर्ने भएको हो। सो सहयोगसम्बन्धी सम्झौतापत्रमा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्वा र चीन रेडक्रस उपाध्यक्ष वाङ हाइजिङले हस्ताक्षर गरे। उपाध्यक्ष हाइजिङसहितको उच्च प्रतिनिधि हाल नेपाल भ्रमणमा छन्।
आगामी दुई वर्षभित्र गोदामघर निर्माण पूरा हुने सोसाइटीका मानवीय तथा सञ्चार विभागका प्रमुख दिव्यराज पौडेलले जानकारी दिए।
सोसाइटीका अध्यक्ष सञ्जीव थापाले ०७२ को भूकम्पपछि ठूलो क्षमताको गोदामघरको आवश्यकता खट्किएको चर्चा गरेका थिए। यस्तै, चीन रेडक्रसका उपाध्यक्ष हाइजिङले नेपाल रेडक्रसलाई गोदामघर निर्माणका साथै अन्य क्षेत्रमा पनि सहयोग जारी रहने बताए।
उपाध्यक्ष हाइजिङ सहितको प्रतिनिधिमण्डलले भक्तपुरस्थित गोदामघर निर्माणस्थलको अवलोकन समेत गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।