नेपालगन्ज- अत्यधिक चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले चिसोबाट नगरवासीलाई जोगाउन विभिन्न सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था मिलाएको छ।
एक सातादेखि शीतलहर र बाक्लो कुहिरोसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि त्रिभुवन चोक, धम्बोझी चोक, बागेश्वरी मन्दिर लगायतका ११ स्थानमा दाउरा वितरण गरी आगो बाल्ने व्यवस्था मिलाइएको उपमहानगरपालिकाले जनाएको छ।
सर्वसाधारणको ओहोरदोहोर धेरै हुने स्थानमा आगो बाल्ने व्यवस्था मिलाइएको हो।
उपमहानगरपालिकाले जिल्ला वन पैदावार आपूर्ति समितिबाट दाउरा खरिद गरी आगो ताप्ने व्यवस्था मिलाएको हो।
नेपालकै अत्यधिक गर्मी हुने सहर नेपालगन्जमा तीन दिनदेखि राम्रोसँग घाम समेत लागेको छैन। बुधबार नेपालगन्जको तापक्रम घटेर ७.८ सेल्सियस पुगेको थियो।
शीतलहर र बाक्लो कुहिरोसँगै चिसो हावा चल्न सुरु गरे पछि जनजीवन कष्टकर बन्दै गएको छ।
चिसोका कारण विद्यालयहरुले जाडो बिदा दिन थालेका छन् भने बजारमा चहलपहलसमेत घट्न थालेको छ। जाडोबाट गरिब तथा विपन्न परिवारका मानिसहरु बढी प्रभावित भएका छन्। वृद्धवृद्धा र बालबालिकाहरु बढी समस्या परेका छन्।
यसैबीच नेपाल रेडक्रस सोसाइटी बाँकेले बागेश्वरी मन्दिर परिसरका गरिब तथा विपन्न वृद्धवृद्धाहरुलाई कम्बल तथा न्यानो कपडा वितरण गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।