काठमाडौं– ठमेल क्षेत्रका 'गुण्डा' मानिने सफल विक्रम कुवँरलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले उनालाई बुधबार साँझ पक्राउ गरेको हो।
ललितपुरस्थित 'माया नेपाल' नामक रिह्याब सेन्टरमा विगत १ महिनादेखि लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जनाकारी दिए।
उनीमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेर प्रहरीले अनुसन्धान सुरु गरेको छ। गत जेठ २ गते बिहान ५ बजे कुवँर र उनकै समूहका अर्का 'गुण्डा' मानिने सुदीप गुरुङले दोलखाका ठेकेदार नातासी शेर्पालाई छुरा प्रहार गरी घाइते बनाएका थिए। ट्याक्सीमा सवार शेर्पालाई स्कुटरमा आएर कुवँर र गुरुङले छुरा हानेका थिए।
उक्त घटनामा संलग्न सुदीप २ हप्ताअघि पक्राउ परे पनि कुवँर भने फरार थिए। पक्राउ परेका कुवँर यसअघि पनि पटक-पटक पक्राउ परेर साढे ४ वर्ष जेल बसेर छुटेका व्यक्ति भएको प्रहरीले जनाएको छ।
हातहतियार, ज्यान मार्ने उद्योग, लागुऔषध र सार्वजनिक अपराध मुद्दामा उनी पक्राउ परेका थिए। पछिल्लो समय कुवँर हातहतियार मुद्दामा ३ वर्ष कैद बसेर एक वर्षअघि मात्रै छुटेका व्यक्ति भएको बोगटीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।