चितवन- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित पार्टी नेकपालाई वार्तामार्फत मूलधारमा ल्याउनुपर्ने बताएका छन्।
नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कुनै पनि राजनीतिक दललाई प्रतिबन्ध लगाउनु लोकतन्त्रमा राम्रो नभएकाले वार्तामार्फत समस्याको समाधान खोज्नुपर्नेमा जोड दिए।
अहिले राजनीतिक रुपमा खुल्ला वातावरण बनेको भन्दै उनले हतियार उठाएर व्यक्तिगत स्वार्थका लागि हिँड्न नहुने धारणा राखे।
उनले कांग्रेसभित्र गुटबन्दी नरहेको जिकिर पनि गरे। 'महासमिति र केन्द्रीय समितिको बैठकले समस्या समाधान गरेको छ। कांग्रेस प्रजातान्त्रिक पार्टी भएका कारण आफ्ना धारणाहरु बाहिर आउँदैमा त्यसलाई गुट–उपगुट छ भन्नु हुँदैन,' उनले भने।
सरकारले गरेका कामहरुका कारण जनतामा फेरि कांग्रेसप्रति आशा र भरोसा बढेको उनको भनाइ थियो।
फरक प्रसंगमा उनले नेविसंघको तदर्थ समिति असार २२ गतेको केन्द्रीय समितिको बैठकपछि टुंगो लाग्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।