काठमाडौं– विगत २ वर्षदेखि फरार रहेका प्रहरी पूर्व महानिरीक्षक (आइजी) रमेशचन्द ठकुरीले आज (बिहीबार) सर्वोच्च अदालतमा आत्मसमर्पण गर्ने भएका छन्।
अदालतले उनलाई दोषी ठहर गर्दै कैद र जरिवानाको सजाय सुनाएको दुई वर्षपछि उनले आत्मसर्पण गर्न लागेका हुन्। प्रहरीको सुडान मिसन घोटाला काण्डमा दोषी ठहर गर्दै चन्दलाई सर्वोच्च अदालतले २०७४ बैसाख १७ गते १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। अदालतको फैसलासँगै उनी फरार थिए।
सुडान घोटाला काण्डमा सर्वोच्चले तीन पूर्वआइजिपीलाई दोषी ठहर गरेको थियो। सर्वोच्चले नेपाल प्रहरीका पूर्व आइजिपी ओमविक्रम राणालाई २ वर्ष कैद र ५० हजार जरिवाना, हेमबहादुर गुरुङलाई १ वर्ष कैद र ४० हजार जरिवाना र चन्दलाई १ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना सुनाएको थियो।
त्यस्तै, पूर्वएआइजी श्यामसिंह थापा र दीपकसिंह थाङ्देङलाई १ वर्ष कैद र ४० हजार जरिवाना सुनाएको थियो। तत्कालीन डिआइजी दीपककुमार श्रेष्ठ र तत्कालीन एसएसपी रविप्रताप राणालाई पनि ६ महिना कैद र ३० हजार जरिवाना फैसला सुनाएको थियो। उनीहरु सबै आफैं अदालतमा उपस्थित भएर जेल चलान भएका थिए।
तर, पूर्वआइजिपी चन्द भने फरार थिए। उक्त फैसलापछि चन्द भारतमा आफन्तको घरमा बस्ने गरेको कुरा बाहिर आएको थियो। त्यसपछि भारतबाटै उनी पर्यटकका रुपमा थाइल्यान्ड गएर बसेको बताइएको थियो। अहिले भने उनी आफैं अदालतमा उपस्थित भएर आत्मसर्पण गर्न लागेका हुन्।
प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलाशले नेपाल प्रहरीको सुडानस्थित राष्ट्रसंघीय शान्ति मिसनलाई आवश्यक बन्दोबस्तीको सामान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन प्रहरी अधिकारीलाई दोषी ठहर गरेको थियो।
अख्तियारले ३६ जनाविरुद्ध मुद्दा दायर गरेकोमा विशेष अदालतले तीन पूर्वआइजिपी र ठेकदारलाई मात्र दोषी ठहर गरेको थियो। सर्वोच्चले थप तीन तत्कालीन प्रहरी अधिकारीलाई समेत दोषी ठहर गरेको थियो।
सुडान मिसनमा करिब ४३ करोड रुपैयाँ बराबरको एपिसीलगायत सामान खरिदमा २८ करोड ४० लाख रुपैयाँ भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानमा खुलेको थियो। ०६५ साल असोजदेखि सुडानको डार्फरमा नेपाल प्रहरीको टोली खटिँदै आएको छ। उक्त भ्रष्टाचारका कारण नेपाल प्रहरीले अहिले पनि सो मिसनबाट सोधभर्नावापतको करोडौं रकम गुमाउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।