फलेवास, पर्वत- फलेवास नगरपालिकाका–११ पाङराङदेखि बुटवलसम्म सिधा बस सेवा सञ्चालनमा आएको छ।
पुस १० गतेदेखि पाङराङदेखि स्याङ्जाको वालिङ हुँदै बुटवलसम्म वालिङ–हुवास यातायात समितिले बस सञ्चालनमा ल्याएको हो। आलोपालो गरी तीन डिलक्स बस सञ्चालन गरिएको समितिका सदस्य राधाकृष्ण पाठकले जानकारी दिए।
बस सञ्चालन भएसँगै फलेवास नगरपालिकाका कुर्घा र पाङराङ तथा बिहादी गाउँपालिकाका सबै वडाका यात्रुले नियमित रुपमा यात्रा गर्ने गरेका छन्।
हरेक दिन बिहान ६:४० देखि पाङराङको कर्नासबाट छुट्ने बस अपराह्न ३ बजे बुटवल पुग्छ। पाङराङदेखि बुटवलसम्मको भाडा रु ५५० कायम गरिएको छ। पाङराङबाट बुटवलसम्मका लागि सिधै बस सञ्चालनमा नहुँदा दुई दिन लगाएर कुस्मा–नारायणगढ हुँदै बुटवल पुग्नुपर्ने बाध्यता थियो।
यसैगरी हरेक दिन बर्दघाटदेखि बुटवल, स्याङ्जा वालिङ हुँदै हुवास, रानीपानी, बाच्छा र पाङराङसम्मका लागि पनि बस सञ्चालनमा ल्याइएको समितिले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।